अस्पताललाई अक्सिजन मेसिन सहयोग



प्रताप बानियाँ, म्याग्दी ।

म्याग्दीको बेनी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले आर्थिक सहयोग संकलन गरेर बेनी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग गरेका छन् । जनप्रतिनिधिले आधा महिनाको सुविधा र कर्मचारीको स्वेच्छिक रूपमा आर्थिक सहयोगमा ६ थान अक्सिजन कन्सन्ट्रेटर मेसिन खरिद गरी अस्पताललाई उपलब्ध गराएका हुन् ।

कुल चार लाख ८० हजार रूपैयाँमा खरिद गरिएको उक्त अक्सिजन कन्सन्टेटर मेसिनहरू बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवाल र प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई हस्तान्तरण गर्नुभएको छ । सहयोग हस्तान्तरण गरिएका मेसिनहरूको क्षमता प्रतिमिनेट पाँच लिटर रहेको बेनी नगरपालिकाले जनाएको छ ।जिल्लामा नयाँ भेरिएन्टसहितको कोरोना भाइरसको संक्रमणदर बढ्दै गइरहेको अवस्थामा अस्पतालमा उपचार सेवा लिन आउने बिरामीलाई लक्षित गरेर कन्सन्ट्रेटर मेसिन सहयोग गरिएको उपप्रमुख बरुवालले बताउनुभयो ।

उहाँले अस्पताललाई आवश्यक पर्ने थप उपकरणहरू पनि सहयोग गरिने बताउँदै यसअघि नगरपालिकामार्फत बेनी अस्पतालमा २० श्ययाको आइसोलेसन वार्ड निर्माणमा झन्डै सात लाख रूपैयाँ सहयोग गरिएको बताउनुभयो । नगरपालिकाले प्रि–आइसोलेसन सञ्चालन, स्वाब संकलनलगायत कार्यहरू गरिरहेको छ ।
कोरोना संक्रमित बिरामीको उपचारमा प्रयोग गरिने मेसिन कोरोनाको महामारीपछि पनि अन्य श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीहरूको लागि उपयोग गरिने बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो । म्याग्दीमा हालसम्म कुल २ हजार ९३ जना कोरोना संक्रमितको संख्या पुगेकोमा अहिले २ सय ३३ जना सक्रिय संक्रमितहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्