पर्सामा सक्रिय संक्रमितको संख्या निरन्तर घट्दै



कृष्णउदास खनाल, वीरगञ्ज ।

दोश्रो लहरमा पनि कोरोना संक्रमणको हटस्पट बनेको वीरगञ्जमा सक्रिय कोरोना संक्रमतिको संख्या घटेको छ ।सोमबारसम्ममा पर्सामा कोरोनाबाट सक्रिय संक्रमित भएकाहरूको संख्या पाँच सयबाट तल झरेको हो । जिल्लामा अब ४ सय ३७ जना सक्रिय संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय पर्साले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

कोरोना संक्रमण दर र संक्रमितको संख्या घट्दै गएर अवस्था सुधार हुँदै गएको छ । जसका कारण अस्पताल र आइसोलेसन सेन्टरमा श्यया पनि खाली हुँदै गएका छन् । वैशाख अन्तिम सातादेखि निरन्तर घट्दै गएको संक्रमण दर, जेठ तेश्रो सातायता १० प्रतिशतमा झरेको छ । जेठ दोश्रो साता ३१ प्रतिशतको हाराहारीमा रहेको संक्रमण दर अझै घटेर अहिले १० प्रतिशतमा झरेको हो ।दोश्रो लहर शुरू भएपछि वीरगञ्जमा वैशाख दोश्रो र तेश्रो सातातिर संक्रमण दर ह्वात्तै बढेर ७० प्रतिशतभन्दा माथि पुगेको थियो । वैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञाका कारण संक्रमणको चेन ब्रेक भएर संक्रमण दर र संक्रमितको संंख्या घट्दै गएको हो ।

वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा पछिल्लो एक हप्तायता दिनहँु गरिएको पीसीआर परीक्षणमा संक्रमण दर औसतमा १० प्रतिशत रहेको अस्पतालका निमित्त मेसु वीरेन्द्र प्रधानले जानकारी दिनुभयो । जेठ १६ देखि जेठ २२ सम्म ७ दिनको अवधिमा ७ सय २१ जना निको भएका छन् ।दोश्रो लहरमा वैशाख १५ देखि जेठ २२ सम्म पर्सा जिल्लामा २ हजार ४ सय ३ जना कोरोना संक्रमणबाट मुक्त भई निको भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड सम्पर्क व्यक्ति विनय श्रीवास्तवले जानकारी दिनुभयो ।एक हप्तायता नयाँ थपिने संक्रमितको संख्या निरन्तर कम हुँदै गएको र निको हुनेको संख्या बढ्दै गएकाले अस्पताल र आइसोलेसन सेन्टरहरूमा श्यया खाली हुँदै गएको छ । कोरोना संक्रमतिको उपचारका लागि अस्पताल र आइसोलेसन सेन्टरमा गरि ७ सय ३१ श्ययाको व्यवस्थापन गरिएको छ । तर, अहिले ती सबैमा गरी ८४ जना मात्र संक्रमित भर्ना छन् । बाँकि ६ सय ६ वटा श्यया खाली रहेको श्रीवास्तवले जानकारी दिनुभयो । यस्तै, होम आइसोलेसनमा ३ सय ७६ जना मात्र संक्रमित रहेको श्रीवास्तवले जानकारी दिनुभयो ।

कोरोना संक्रमणको दर न्यूनीकरण गर्ने उद्देश्यले पर्सामा वैशाख १६ गतेबाट लगाइएको निषेधाज्ञा जेठ ३० गतेसम्मका लागि लम्ब्याइएको छ । यही बीचमा वीरगञ्ज महानगरपालिकाले असार १ गतेबाट विद्यालय विद्यार्थीहरूको भौतिक उपस्थितिमा नै सञ्चालन गर्ने निर्णय गरिसकेका कारण अब निषेधाज्ञा हट्ने अनुमान लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्