सुर्नया र पाटनका युवाले सञ्चालन गरे निःशुल्क एम्बुलेन्स सेवा


विनोदसिंह विष्ट, बैतडी ।

बैतडीको सुर्नया गाउँपालिका र पाटन नगरपालिकाका युवाहरूले आकस्मिक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन् । कोरोना भाइरसका बिरामी र अन्य बिरामीहरूलाई महामारीको समयमा अस्पताल पु-याउन सहज होस् भनेर आकस्मिक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको जनाएका छन् ।सुर्नयामा पातालभूमेश्वर युवा जागरण मञ्च र नेचुरल अर्गनाइजेसन बैतडीले संयुक्तरूपमा आकस्मिक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका हुन् ।

गाउँपालिकामा एम्बुलेन्स नहुँदा गाउँपालिकाबासीहरूलाई समस्या भएकाले महामारीको समयमा बिरामीहरूलाई अस्पताल पु-याउनका लागि आकस्मिक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको पातालभूमेश्वर युवा जागरण मञ्च (प्रवास)का उपाध्यक्ष वीरबहादुर विष्टले जानकारी दिनुभयो । कोभिडको महामारीसम्म यो सेवा सञ्चालनमा रहनेछ उहाँले भन्नुभयो– ‘गाउँपालिकामा एम्बुलेन्स छैन्, गाउँका युवाहरू मिलेर भाडामा जिप लिएर आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गरेका हौं ।समस्यामा परेका सुर्नया गाउँपालिकाका नागरिकहरूलाई सहयोग पु¥याउनका लागि आफूहरूले यो अभियान सञ्चालन गरेको नेचुरल अर्गनाइजेसनका अध्यक्ष धनबहादुर विष्टले जानकारी दिनुभयो। अहिलेको समयमा धेरै नागरिक समस्या रहेकाले उनीहरूलाई सहयोग पु¥याउनका लागि प्रयास गरिएको जनाइएको छ ।
युवाहरूले कोरोना माहामारीको बेला सुर्नया गाउँपालिकाभित्र से १ ज ९१७ नम्बरको जिप सञ्चानलमा ल्याएका हुन । कुनै पनि नागरिकरुलाई बिरामी भएर अस्पतालन जान सवारीसाधनको आवश्यकता परे आफूहरूलाई सम्पर्क गर्न आग्रह गरेका छन् ।

आर्थिक अभावले अस्पताल जान नसकेर समस्यामा परेका नागरिकहरूले ९८११६६०८०३, ९८४८८३६२६७, ९८६१८९००८१, ९८४८८९१४७१ जिपचालक ९८४२२५७६२६ मा सम्पर्क गर्न युवाहरूले सबैमा आग्रह गरेका छन् । गाउँपालिकाभित्र निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा सञ्चालनमा आएकाले बिरामीलाई अस्पताल आउन जान सहज हुने भएको छ ।यस्तै, पाटन नगरपालिकाका दुई युवाले पनि कोरोना संक्रमित बोक्नका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका छन् । नेकपा(एमाले)का जिल्ला कमिटी सचिवालय सदस्य लोकेन्द्र भण्डारी र युवासंघका जिल्ला सदस्य भुवन जोशीले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका हुन् ।आर्थिक अभावमा अस्पताल जान समस्या नपरोस् भनेर उनीहरू दुवैजनाले जिपलाई भाडामा लिएर महामारी नियन्त्रण नहुँदासम्मका लागि सेवा सञ्चालन गरेका हुन् । अहिले कोरोना भाइसको संक्रमण दिनप्रतिदिन फैलिइरहेकाले त्यसको रोकथाम र नियन्त्रणका लागि एम्बुलेन्स सेवा सञ्चालन गरेको भण्डारीले बताउनुभयो । एउटा जिपलाई भाडामा लिएर निःशुल्क रूपमा संक्रमित बिरामी बोक्ने व्यवस्था गरेका हौं । उहाँले भन्नुभयो– कोरोनाका बिरामीलाई अस्पतालसम्म पु¥याउन निःशुल्क गाडीको व्यवस्था गरेका छौं, महामारीसम्म यो व्यवस्था गरेका हौं ।

पाटन नगरपालिकाभित्रका कोरोना संक्रमितलाई मध्यनजर गर्दै उक्त व्यवस्था गरिएको भए पनि आवश्यकता परेमा जिल्लाका अन्य ठाउँका बिरामीलाई सेवा दिइने भण्डारीको भनाइ छ ।स्वास्थ्यमा समस्या आएमा लोकेन्द्र भण्डारी ९८५१०६६५५१ भुवन जोशी ९८५११२३९४५ र चालक ९८६९४४०६०९ नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ ।