कञ्चनजंघाको फेदीमा नाउरको खोजी


दिलकुमार लिम्बू, ताप्लेजुङ ।

ताप्लेजुङको कञ्चनजंघा हिमालको फेदीमा हिउँ चितुवाको आहार नाउरको खोजी कार्य भइरहेको छ । कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परीक्षण र विश्व वन्यजन्तु कोषको सहयोगमा गत हप्तादेखि नाउर गणना कार्य शुरू भएको हो ।फक्ताङलुङ गाउँपालिका—७ घन्साका पेमा शेर्पा अहिले कञ्चनजंघा हिमालको डाकुराहरू चहार्न व्यस्त हुनुहुन्छ । शेर्पा मात्र एकलै हुनुहन्न उहाँसँग कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परीक्षणको वन तथा वन्यजन्तु प्राविधिक सुमन काफ्लेलगायत नौ जनाको टोली कञ्चनजंघा क्षेत्र लोनाक खाम्बाजेन क्षेत्रमा नाउर गणनामा परिचालन हुनुभएको छ ।

कञ्चनजंघा क्षेत्रमा नाउरको बासस्थान तथा चरणको अध्ययन अवलोकन गर्न चारवटा क्षेत्र (ब्लग) मा विभाजन गरेर नाउर र हिउँ चितुवाको बास स्थान र चरणको अवस्था बारेमा अध्ययन विगतदेखि नै गर्दै आएको कञ्चनजंघा क्षेत्र व्यावस्थापन परिच्छेद कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन जेम्जोङले बताउनुभयो । ओलाङचुङगोला, याङमा, घुन्सा र याम्फुदिन ब्लग क्षेत्रमा विभाजन गरेर संरक्षणमा पाइने वन्यजन्तुको निरीक्षण हुँदैआएको चेम्जोङले बतानुभयो ।संरक्षण क्षेत्रका चार ब्लगहरूमा हिउँ चितुवा अनुगमन उपसमिति गठन गरेको छ । नाउर, हिउँ चितुवा लागयतका वन्यजन्तुको निरीक्षण गर्ने जिम्मेवारी हिउँ चितुवा उपसमितिलाई हुने गरेको घुन्सा ब्लक हिउँचितुवा उपसमितिका अध्यक्ष पेमा शेर्पाले बताउनुभयो ।वन्यजन्तुबाट घरपालुवा जनावरहरूलाई क्षति गरिदियो भने उपसमितिले अवलोकन गरेर राहत उपलब्ध गराउने गरेको शेर्पाले बताउनुभयो ।पाँच वर्षपछि कञ्चनजंघा संरक्षण क्षेत्रमा नाउर गणना कार्य गत हप्तादेखि शुरू भएको कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताउनुभयो ।

केही वन तथा वन्यजन्तु प्राविधिक र स्थानीय हिउँ चितुवा उपसमिति पदधिकारीहरू नाउर गणनामा परिचालन भएको तिवारीले बताउनुभयो । एकैपटक चारवटा ब्लगमा हिउँ चितुवा उपसमितिका पदधिकारी र प्रविधिले नाउर र चिउँ चितुवाको समेत गणना हुने संरक्षण क्षेत्रको कार्यालयले जनाएको छ । ब्लक क्षेत्र विभाजन गर्दा एक क्षेत्रको वन्यजन्तु अर्को ब्लक क्षेत्रमा नजानका लागि हिमाल, खोला आदिका आधारमा ब्लक क्षेत्र सीमाङ्कन गर्ने गरेको हुन्छ । त्यसैले, एक ब्लग क्षेत्रको अर्को ब्लक क्षेत्रमा गणनामा दोहोरिने कम सम्भावना रहेको तिवारीले बताउनुभयो ।गत महिनामा विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) र कञ्चनजंघा संरक्षण क्षेत्र व्यावस्थापन परिच्छेद्बीच नाउर निरीक्षण र हिउँ चितुवा संरक्षण गर्नका लागि ४० लाख रुपैयाँको कार्यक्रम समझौता भएको कञ्चनजंघा संरक्षण क्षेत्र व्यापस्थापन परिच्छेद अध्यक्ष खगेन्द्र फेम्बूले बताउनुभयो । समुन्द्र सतहदेखि पाँच हजार मिटरभन्दा माथिको उचाइ हिमालमा पाइने वन्यजन्तु नाउरको हालको अवस्था र नाउरको गणना कार्य भइरहेको फेम्बूले बताउनुभयो ।२०७३ सालमा दुई हजार २०० को संख्यामा नाउर रहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिच्छेद कार्यालयका सूचना अधिकारी धमेन्द्र थापाले बताउनुभयो । पाँच वर्षयता नाउरको निरीक्षण भए पनि परिणाम आउन नसकेको थापाले बताउनुभयो ।
कञ्चनजंघा संरक्षण क्षेत्र २०६० सालमा १२ वटा हिउँ चितुवा रहेको अनुमान गरिएकोमा अहिले यो संख्या बढेर कम्तिमा पनि २९ पुगेको कञ्चनजंघा संरक्षण क्षेत्रले जनाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र विश्व वन्यजन्तु कोषको सहयोगमा गरिएको ‘क्यामरा ट्रयाप’ र अन्य परीक्षणले कञ्चनजंघा संरक्षण क्षेत्रभित्रका ओलाङचुङगोला, लेलेप, याम्फुदिन क्षेत्रमा हिउँ चितुवाको संख्या २० देखि २९ सम्म रहेको संरक्षण क्षेत्रको अनुमान रहेको छ ।हिउँ चितुवाको मलमूत्र परीक्षणका आधारमा पनि त्यसक्षेत्रमा १९ देखि २९ वटासम्म हिउँ चितुवा रहेको कञ्चनजंघा संरक्षण क्षेत्र रहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यावस्थापन परिच्छेद्को कार्यालयले जनाएको छ ।