वातावरण दिवसमा वृक्षरोपण


काठमाडौं (नेस) ।

विश्व वातावरण दिवसको अवसरमा शनिबार नेपाल, भारत, बंगलादेश, भुटान र म्यान्मारका विभिन्न भागहरूमा वृक्षरोपण गरी कार्यक्रम सम्पन्न भएको छ ।
वरिष्ठ अभिनेत्री करिष्मा मानन्धरबाट बिहानै वृक्षरोपण गरी यो अभियानको शुभारम्भ गरिएको थियो । शनिबार वाग्मती सफाई महाअभियानकोको ४२१ औं हप्ता पुगेको अवसरमा समेत ललितपुरको यूएन पार्कमा वृक्षरोपण गरिएको छ ।

उक्त कार्यक्रममा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयका सचिव प्रेमनारायण कँडेल, वाग्मती सफाइ महाअभियानका मुख्य अभियन्ता पूर्वमुख्य सचिव लिलामणि पौड्याल, पूर्व सचिव किशोर थापा लगायतको सहभागिता रहेको थियो ।कार्यक्रमका लागि वन मन्त्रालयले बिरुवा प्रदान गरेको थियो । सोही कार्यक्रममा कलाकार दिपाश्री निरौला चर्चित अभिनेता पल शाहको सहभागितामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको थियो ।दक्षिण एसियन टिम नामक स्वयंमसेवी अभियानले २००८ देखि यस किसिमका अन्तर्राष्टिय दिवसलाई स्थानीय संस्थाहरूसँग मिलेर कार्यक्रम गर्दै आएको छ ।देशअनुसार विभिन्न देशले आतिथ्यता गर्ने कार्यक्रमलाई यसपटक नेपालले जिम्मेवारी पाएको थियो । नेपाल देशमा मेची महाकाली सफाइ अभियानको संयोजनमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।

सुदूरपश्चिम प्रदेशको चार स्थानमा कर्णाली प्रदेशको तीन स्थानमा लुम्बिनी प्रदेशको छ स्थानमा, गण्डकी प्रदेशको पाँच स्थानमा वाग्मती प्रदेशको सात स्थानमा प्रदेश दुईको आठ स्थानमा प्रदेश एकको बाह्र स्थानमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।भारत देशमा दक्षिण एसियन टिमको आयोजना र कालिम्पोड. सेवा फाउन्डेसनको संयुक्त आयोजनामा भारतको सोह्र स्थानमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । साथै सिक्किममा अभिनेत्री रुश्मा राईले वृक्षरोपण गर्नुभएको छ ।दक्षिण एसियन टिमको आयोजनामा बंगलादेश, भुटान र म्यान्मारमा समेत वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । यस महाअभियानका लागि विभिन्न कलाकारहरूले आफूले पनि वृक्षरोपण गर्ने र आम नागरिकलाई समेत वृक्षरोपण गर्नका लागि सामाजिक सञ्जालबाट अपिलसमेत गरेका थिए ।उता यूवा अभिनेता पुष्प खड्काले आफ्नो गृहजिल्ला कैलालीमा वृक्षरोपण गरेका छन् । यो अभियान दिनभर विविध कार्यक्रम गरी मनाइँदै छ । वातावरण जोगाउनुपर्छ भन्ने अभियानलाई जनजनमा पु¥याउनु यसको मुख्य उद्देश्य रहेको छ ।