पत्रकार राष्ट्रिय दबुको कोभिड दु्रत प्रतिकार्य समूह


नेपाल समाचारपत्र, काठमाडौं ।

नेवाः पत्रकार राष्ट्रिय दबुले कोरोना संक्रमित दबुमा आबद्ध पत्रकारलाई सहयोग गर्न कोभिड दु्र्रत प्रतिकार्य समूह गठन गरेको छ ।पत्रकार राष्ट्रिय दबुको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो । पत्रकार राष्ट्रिय दबुका कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठको संयोजकत्वमा गठित समितिमा सह –कोषाध्यक्ष बाबुकाजी साछेँ श्रेष्ठ, विराजकाजी राजोपाध्याय, विगेन तुलाधर, अनुप प्रधान, पूर्णभक्त दुवाल र सुनीता डंगोल रहनुभएको छ । समूहले कोरोना संक्रमित पत्रकारलाई राहत, पौष्टिक आहार र आर्थिक सहयोग गर्ने संयोजक श्रेष्ठले बताउनुभयो ।

यसैबीच, पत्रकार राष्ट्रिय दबुले कोरोना संक्रमणका कारण मातृशोक, पितृशोकमा परेका पत्रकाहरूलाई शनिबार एक भर्चुअलमार्फत श्रद्धाञ्जलि सभाको आयोजना गरी समवेदना प्रकट गरेको छ । कोरोना संक्रमणका कारण नेपालकै पहिलो सन्ध्याकालीन दैनिक विश्वभूमिका सम्पादक सुशीलवीरसिंह कंसाकार, पत्रकार राष्ट्रिय दबुका पूर्व केन्द्रीय सदस्य राजेन्द्र शाक्यका माता र पिता, काठमाडौ शाखाका अध्यक्ष अविन्द्रमान सिंहकी माता इन्द्रमाया सिहं, सदस्य शरणहरि डंगोलकी माता श्रीमाया डंगोल, र ललितपुर शाखाका सदस्य गुणराज शाक्यका माता बेखामाया शाक्यको हालै निधन भएको थियो ।

सभामा पत्रकार राष्ट्रिय दबुका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्नुभयो । उहाँले यस दुःखद घडीमा आर्थिकस्तर कमजोर भएका परिवारलाई सहयोग गर्ने तयारी भइरहेको बताउनुभयो । सो अवसरमा सचिव कृष्णकाजी मानन्धर(केके) ले प्रतिकार्य समूहले गर्न लागेको कार्यबारे जानकारी दिनुभयो ।