हरिहर नेपाल ,विराटनगर ।
प्रदेश नम्बर १ प्रदेशसभा सदस्य बिन्दिया कार्कीले प्रयोग गर्ने प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारको ठक्करबाट विराटनगरमा भारतीय मजदुर ३५ वर्षीय मुकेश शर्माको मृत्यु भएको छ ।उक्त कार कार्कीका छोरा रोबिन कार्कीले चलाएको प्रत्यक्षदर्शीले बताए पनि दुर्घटनाको २ दिन बितिसक्दासमेत प्रहरीले दोषीलाई पक्राउ गर्न ढिलाइ गरेको छ ।विराटनगर–४ स्थित एयरपोर्ट लाइनमा बिहीबार राति प्रदेशसभा सदस्य कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारको ठक्करबाट भारतीय मजदुर ३५ वर्षीय मुकेश शर्माको मृत्यु भएको थियो ।
कारको ठक्करबाट मोरङको कटहरी गाउँपालिका–२ का २७ वर्षीय राजकुमार राजवंशी पनि गम्भीर घाइते भएका थिए ।दुर्घटनापश्चात् कोशी अस्पतालमा लगिएका शर्माको उपचारकै क्रममा बिहीबार राति मृत्यु भएको थियो । घाइते राजवंशीको भने विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भएको छ ।मृतक र घाइते विराटनगर–४ स्थित एभरेस्ट स्टिल उद्योगमा कार्यरत मजदुर हुन् । ओभरस्पिडका कारण कारण गाडी अनियन्त्रित भई दुर्घटना भएको र एक जनाको ज्यानसमेत गएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । ‘गाडी स्पिडमा थियो । गाडी चालकको नियन्त्रणमा थिएन’, स्थानीय देवकुमार बस्नेतले–भन्नुभयोसायद मदिरा सेवन गरेका थिए । सडक छेउमा हिँडिरहेका मान्छेलाई समेत देखेनन् ।’ उनले गाडीको चालक सिटबाट रोबिन कार्की नै निस्किएको बताए ।
दुर्घटनालगत्तै फरार भएका कार चालक रोबिन कार्कीलाई भने प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन् । प्रहरीकै संलग्नतामा दोषीलाई उन्मुक्ति दिने प्रयास भइरहेको स्थानीयको आशंका छ ।कार चालक रहेका भनिएका रोबिनसँग सवारी चालक अनुमति पत्रसमेत नभएको खण्डमा रातारात लाईसेन्सधारी सवारी चालक खडा गरी सांसदको छोरा जोगाउन चलखेल शुरू भएको स्रोतको दाबी छ ।प्रहरीले रोबिनले चलाएको कारमा सवार किशोरीसँग बयान लिएको जनाएको छ । घटनाको अनुसन्धानका विषयमा प्रतिक्रिया दिंदै मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले अनुसन्धानका आफ्नै विधि र प्रक्रिया हुने बताउँदै कसैले भन्दैमा त्यही विषय सत्य नहुने बताउनुभयो ।उहाँको घटनाका विषयमा अनेक कोणबाट अनुशन्धान भइरहेको बताउँदै भोलिसम्ममा घटनाको वास्तविकता बाहिर ल्याउने जानकारी दिनुभयो ।उहाँले दोषी देखिए अपराध र अपराधीले ठूलो वा पहुँचका आधारमा सजायबाट उन्मुक्ति नपाउने र प्रहरीले सत्य तथ्य प्रमाणमा आधारित भएर बाहिर ल्याउने बताउनुभयो ।
प्रहरी कसैको दबाब र प्रभावमा नपरी सत्यतथ्य छानबिनमा अगाडि बढेको उहाँको भनाइ छ । यस्तै, मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले समेत सवारी दुर्घटनामा व्यक्तिको ज्यान गएको हुनाले प्रहरीले उच्च प्राथमिकताका साथ अनुसन्धान गरिरहेको बताउनुभयो ।उहाँले प्रहरीले सम्पूर्ण तथ्य र प्रमाणका आधारमा बोल्नुपर्ने हुनाले केही समय लागेको प्रतिक्रिया दिनुभयो । एसपी खड्काले प्रहरीमाथि विश्वास गर्न र भोलिसम्म पर्खिदिन आग्रह गर्नुभयो । प्रहरी कुनै पनि शक्ति र दबाबमा नपर्नुपर्ने उहाँले बताउनुभयो अहिलेसम्म ९ जनासँग बयान लिइएको बताउँदै एसपी खड्काले भन्नुभयो, ‘अलग अलग घटना पृष्ठभूमिमा देखिएका प्रत्यक्षदर्शीसँग बयान लिइएको छ तर उनीहरूका बयान फरक फरक रहेका छन् ।लाइसेन्स बेगर सवारी चलाएर दुर्घटनामा परी कुनै व्यक्तिको मृत्यु भए सवारी चलाउने चालक र सवारी धनीमाथि ‘सवारी ज्यान मुद्दा’ दर्ता हुने कानुनी व्यवस्था छ ।
त्यही भएर पहुँचवाला सांसदको छोरा रोबिनलाई घटनास्थलमा नदेखाई लाइसेन्स भएका व्यक्ति खडा गरेर मुद्दा मिलाउन प्रहरीलाई दबाब दिइएको स्रोतको दाबी छ । स्रोतका अनुसार बिहीबार साँझ रोबिनसहित ५ जनाले विराटनगरस्थित मुनालपथको एक होटलमा मदिरा सेवन गरेका थिए । स्थानीय प्रत्यक्षदर्शीका अनुसार कारमा २ युवतीहरू पनि सवार थिए । दुर्घटनालगत्तै तीनै जना कारबाट निस्किएर फरार भएको प्रत्यक्षदर्शीले बताएका छन् ।घटनापछि कारमा सवार दुई युवतीसँग प्रहरीले बयान लिइसकेको प्रवक्ता एवं डि.एस.पी राईले बताउनुभयो । गाडीमा सवार एक युवतीले भने गाडी रोबिनले नै चलाएको बयान दिएको स्रोतले बताएको छ । यसैबीच, स्रोतका अनुसार मजदुरीकै लागि नेपाल आएका मृतक भारतीय नागरिक मुकेश शर्माको शव उनको घर पठाइसकिएको छ । उनको परिवारलाई शवसँग भारतीय रुपियाँ ५० हजार क्षतिपूर्ति स्वरूप दिइएको स्रोतको दाबी छ । सांसद बिन्दिया कार्की नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभामा प्रतिनिधित्व गर्नुहुन्छ ।











प्रतिक्रिया