सिलाइ–कटाइ सिकेर आफ्नै खुट्टामा उभिएकाहरू



बाँके ।

सानो सहयोगले कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ । नेपालगञ्जका आधा दर्जन अल्पसंख्यक समुदायका किशोरी-युवतीमा यस्तै परिवर्तन आएको छ । नेपालगञ्ज–१३ को कार्यालयले दिएको सिलाइ–कटाइ तालिमले ती किशोरी-युवतीमा राम्रै परिवर्तन ल्याएको छ ।

तीन महिने सिलाइ–कटाइ तालिमपछि ती किशोरीको दैनिकी मात्रै फेरिएको छैन, आफ्नै खुट्टामा उभिन सक्ने भएका छन् ।बुलबुलियाकी पूजा केवट बिहानदेखि रातिसम्म कपडा सिलाउन व्यस्त हुन्छिन् । घरमै खोलिएको टेलरिङमा बित्छ, पूजाको दैनिकी । पूजाले कपडा सिलाएर दिनको आठ-नौ सय कमाउँछिन् । पूजा र आरती केवट मिलेर टेलरिङ पसल खोलेका छन् ।

मैले कपडा काट्छु, आरतीले सिलाउँछिन् । मैले पनि सिलाउँछु, पूजाले भन्नुभयो– ‘हामीले दुई वर्षदेखि सिलाइ गरिरहेका छौं । राम्रै कमाइ हुन्छ । हामीलाई फुर्सद नै हुँदैन ।’बुलबुलियामा केवट युवतीले टेलर चलाएको उनीहरू मात्रै हो । उनीहरूले ६० हजार ऋण लिएर टेलरको शुरुआत गरेका थिए । त्यो ऋण तिरिसकेका छन् । दुवै जनाले दैनिक सय-सय रुपैयाँ जम्मा गर्छन् । चाडबाडको बेलामा अझ भ्याइ–नभ्याइ हुन्छ  पूजा भन्नुहुन्छ– ‘गएको इदमा दुई दिनमा १५ वटा सुट सिलाएको थियौं ।’ उनीहरूले एउटा सुट सिलाएको दुई सय पचास रुपैयाँ लिने गर्दछन् ।१० कक्षा पढेकी पूजा आफ्नै खुट्टामा उभिन सक्ने भएकी छन् । आफ्नो खर्चका लागि मात्रै होइन, जिउनकै लागि अब उनलाई अरूको भर पर्नुनपर्ने भएको छ ।तीन महिने तालिमले लोनियनपुरकी आरती बिर्जवासीको जीवनमा पनि परिवर्तन ल्याएको छ । लालापुर चोकमा किराना पसलसँगै टेलर राखेकी आरतीले दैनिक चार-पाँच सय कमाइरहेको बताउनुभयो । ‘बिहान घरको काम भ्याएर पसलमा आउँछु । दिनभरि कपडा सिलाउँछु, साँझ ५ बजे घर जान्छु, आरतीले भन्नुभयो– ‘सिलाइबाट घर खर्च चलाउन सहयोग मिलेको छ ।शुरूमा आरती र सिल्का बिर्जवासी मिलेर टेलर खोलेका थिए । सिल्काले पनि वडाले दिएको तालिम लिएकी थिइन् । पछि उनीहरू छुट्टा छुट्टै काम गर्न थाले ।लोनियनपुरकी रञ्जु बिर्जवासी, पार्वती बिर्जवासीले पनि सिलाइ–कटाइ तालिम लिएका छन् । उनीहरूले आफ्नै घरमा कपडा सिलाउँछन् । रञ्जु भन्नुहुन्छ– ‘दैनिक चार-पाँच जोडा कुर्ता सुरुवाल सिलाउँछु ।

वडा सदस्य ओमप्रकाश चौहानले अल्पसंख्यक समुदायका किशोरी-युवतीलाई वडा कार्यालयले तालिम दिएर स्वरोजगारको बाटो देखाइदिएको बताउनुभयो ।
‘वडा कार्यालयले बाटो देखाइदियो । उनीहरू त्यही बाटोमा हिँडे, वडा सदस्य चौहानले भन्नुभयो– ‘अब आफ्नै खुट्टामा उभिने भएका छन् । घर व्यवहार चलाउन सक्ने भएका छन् ।’यी किशोरी-युवतीले शुरूआतमा वडा कार्यालयबाट तालिम लिएर पछि अरू संघ संस्थाबाट पनि तालिम लिएका छन् । पूजा केवट र रञ्जु बिर्जवासीले सीटीईभीटीबाट मान्यता प्राप्त प्रमाणपत्र पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्