कालो ढुसीको त्रास



छिमेकी भारतमा फैलिएको आँखा बिगार्ने कालो ढुसी नेपालमा पनि देखापरेको छ । कालो ढुसीको संक्रमणका कारण अन्धोपन हुनसक्ने र ज्यानसमेत जानसक्ने जानकारी दिंदै स्वास्थ्यकर्मीहरुले सञ्चारमाध्यममा जानकारी दिइरहेका छन् । यसबारे समयमै जनचेतनाका सन्देशहरु फैलाउने र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको उपचारका लागि आवश्यक पर्ने औषधि, उपकरण, जनशक्ति र उपचार केन्द्रका बारेमा तयारी गर्नुपर्ने आवश्यकताप्रति यतिखेर सर्वत्र चर्चा छ ।

भारतमा यो समस्या निकै जटिल अवस्थामा पुगेका कारण सरकारले यसको उपचारका लागि प्रयोग गरिने औषधि बाहिरी मुलुकलाई नदिने निर्णय गरिसकेको छ । नेपालमा पहिलो पटक वीरगञ्जमा देखापरेको आँखाको संक्रामक रोग कालो ढुसी बाँके र काठमाडौमा समेत पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरिसकेको छ । वीरगञ्जका ६७ वर्षीय एक पुरुषमा कालो ढुसीको संक्रमण देखिएको समाचार सार्वजनिक भएसँगै हाल १० जनाभन्दा बढी मानिसमा यो समस्या देखापरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा कालो ढुसीको संक्रमण भएका बिरामी त्रिवि शिक्षण अस्पतालमा तीन, वीर अस्पतालमा दुई र नर्भिक अस्पतालमा एक रहेको बताइन्छ । वैशाखको तेस्रो सातादेखि कालो ढुसीले आँखामा संक्रमण गरेको पहिचान भएपनि अहिलेसम्म के–कति जना संक्रमित छन् भन्ने बारेमा यकिन तथ्यांक स्वास्थ्य मन्त्रालयसँग पनि छैन ।

यो समस्या कोरोना संक्रमण भै निको भएका व्यक्तिहरुमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले कालो ढुसीको संक्रमण देखिने विशेषज्ञहरुले बताउँदै आएका छन् । अहिले सम्म कोरोना संक्रमण निको भएका व्यक्तिहरुले कोरोना संक्रमणका बेला स्टेरोइड तथा एन्टिबायोटिक औषधि सेवन गरेका गम्भीर प्रकृतिका कोभिडका बिरामीहरु संक्रमणमुक्त भएपछि कालो ढुसीको संक्रमणमा परेको बताइन्छ । यो रोगले विशेष गरी मधुमेह, क्यान्सर र मिर्गौलाका बिरामीलाई सताउँछ र स्टेरोइड एवं एन्टिबायोटिक औषधि बढी प्रयोग गर्ने व्यक्ति यसको चपेटामा पर्दछन् भनिएको छ । रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम हुने व्यक्तिलाई यसले ठूलो क्षति पुर्याउने र ‘अपरट्यूनिस्कि इन्फेक्सन’ हुने गरेको चिकित्सकहरुको अनुभव छ । यस्तो समस्या भएका व्यक्तिमा आँखा सुनिने, दुख्ने, धमिलो देख्ने, आँखाबाट रगतजस्तो तरल पदार्थ बग्ने, एक्कासी मधुमेह बढ्ने, सास फेर्न असहज हुने लगायतका लक्षणहरू देखा पर्नेगरेको पनि चिकित्सकहरुले प्रष्ट्याएका छन् ।

यस्तो खाले समस्याबाट हाल ४५ वर्ष माथिका व्यक्तिमा असर गरेको देखिएको छ ।
यसबाट जोगिन के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने बारेमा प्रष्ट जानकारी आवश्यक छ । उपचारका लागि चिकित्सकहरुको सल्लाहविपरीत आफूखुशी कुनै पनि औषधि प्रयोग गर्नु बुद्धिमानी हुन्न । यस विषयमा सरकारको अग्रसरता आवश्यक छ । औषधि उद्योगहरुले पनि समयमै यस रोगको उपचारका लागि आवश्यक औषधि उत्पादन गर्ने र विक्री वितरण गर्नेतर्फ सचेत र सतर्क हुनुपर्छ । यसका लागि समयमै कच्चा पदार्थहरु जुटाउनुपर्ने भएकाले सरकारले यथाशीघ्र निर्णय गरी कच्चा पदार्थ भित्र्याउँने कार्यका लागि सहज र सरल वातावरण बनाइदिनुपर्छ । समयमै सरकार सचेत भै मुलुकमा औषधिको व्यवस्थापन र भण्डारण गरी आवश्यकताअनुसार आपूर्ति गर्ने निकायहरुलाई समेत तयारी अवस्थामा राख्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्