डेढ लाख एन्टिजेन किट कर्णालीमा आउँदै



मुगु (नेस) ।

पछिल्लो समय कर्णालीमा कोरोना संक्रमण फैलिएपछि परीक्षणको दायरा बढाउन कर्णाली प्रदेशमा डेढ लाख एन्टिजेन किट आउने भएको छ ।सरकारले कोरोना परीक्षणका लागि सबै प्रदेशमा कम्तिमा एक लाख एन्टिजेन किट पठाउने निर्णय गरेपछि कर्णालीमा पनि १ लाख ५० हजार किट कोरोना परीक्षणका लागि कर्णालीमा आउन लागेको हो ।

कर्णालीका १० जिल्लामा यो किट वितरण हुने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलका अनुसार कर्णालीमा १ लाख ५० हजार किट पठाइन लागेको हो ।प्रदेश १ मा १ लाख, प्रदेश २ मा २ लाख, बागमती प्रदेशमा १ लाख, काठमाडौंमा थप १ लाख, भक्तपुर र ललितपुरमा ५०-५० हजार, लुम्बिनी प्रदेशमा २ लाख, गण्डकी प्रदेशमा डेढ लाख र सुदूरपश्चिम प्रदेशमा २ लाख एन्टिजेन पठाइने उहाँले जानकारी दिनुभयो ।

एन्टिजेनको सदुपयोग र कन्ट्याक्ट ट्रेसिङलगायत आवश्यक पर्ने स्थानमा सम्बन्धित प्रदेशका स्वास्थ्य निर्देशनालय, मेडिकल स्टोर, जिल्ला जनस्वास्थ्य कार्यालयले स्थानीय तहको समन्वयमा टोलटोलमै पुगेर एन्टिजेन परीक्षण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।मुगुको छायाँनाथ रारा नगरपालिकाले नगरबासीको कोरोना परीक्षण निःशुल्क गर्ने भएको छ । यसअघि, ८ सय किट ल्याएको नगरपालिकाले अहिले निःशुल्क कोरोना परीक्षण गराइरहेको छ ।जिल्लामा अहिले १ सय ९७ जना कोरोना संक्रमित पुष्टि भएका छन् । यीमध्ये १ सय ४३ जना सक्रिय संक्रिमत छन् भने ५४ जना निको भई घर फर्किइसकेको जिल्ला अस्पताल मुगुले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्