कोपा अमेरिका अर्जेन्टिनामा नहुने



लन्डन, (एजेन्सी)

दक्षिण अमेरिकी महादेशको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिका अर्जेन्टिनामा आयोजना नहुने भएको छ ।दक्षिण अमेरिकी महादेशको फुटबल महासंघ (कन्मेबोल) ले औपचारिकरूपमै प्रतियोगिता पूर्वघोषणा र तयारीअनुसार अर्जेन्टिनामा आयोजना नगर्ने निर्णय गरेको हो । अर्जेन्टिनामा कोरोना भाइरसको दोस्रो लहर डरलाग्दो गरी बढेपछि आयोजकले त्यहाँ प्रतियोगिता नै आयोजना गर्न नसकिने ठहर गरेको हो । अर्जेन्टिनामा अहिले कोरोनाबाट दैनिक ३५ हजारभन्दा बढीलाई कारोना संक्रमण भइरहको छ ।

पछिल्ला दुई सातायता संक्रमित र मृतकको संख्यासमेत लगातार बढेपछि कोपा अमेरिका फुटबल नै सो देशबाट अन्यत्र सार्नुपर्ने अवस्था आएको कन्मेबोलले जनाएको छ । अझैसम्म प्रतियोगिता कहाँ गर्ने भन्ने विषयमा भने निर्णय भइसकेको छैन । यसपटक कोपाको मुख्य आयोजक देश अर्जेन्टिना बनेको थियो । दुई साताअघि मात्रै सहआयोजक कोलम्बियालाई हटाएपछि अर्जेन्टिना एक्लै मुख्य आयोजक बनेको थियो । तर, कन्मेबोलको पछिल्लो निर्णयसँगै अब प्रतियोगिता नै अन्योलमा परेको छ । दुई साताअघि मात्रै अर्जेन्टिनाको फुटबल संघले सम्पूर्ण फुटबल गतिविधिमा प्रतिबन्ध लगाएको थियो ।पूर्वतयारीअनुसार कोपा यसपटक अर्जेन्टिना र कोलम्बियाका नौ सहरमा आयोजना हुने तयारी थियो । जसमा अर्जेन्टिनाका पाँच र कोलम्बियाका चार सहर प्रतियोगिताका लागि छनोट भएका थिए । तर, अब यी दुवै देशमा प्रतियोगिता आयोजना नहुने पक्का भएको छ ।

मुख्य आयोजक देश अर्जेन्टिनामा कोपा नहुने निर्णयसँगै अब नयाँ स्थानको खोजी शुरू भएको छ । अहिले कन्मेबोल प्रतियोगिता चिली वा अमेरिकामा सारेर भए पनि गर्न सकिने सम्भावनाबारे अध्ययन गरिरहेको छ । त्यसमा पनि चिलीभन्दा अमेरिकामा कोपा आयोजना हुन सक्ने सम्भावना बढी रहेको अर्जेन्टिनी मिडियाले जनाएका छन् ।यसपटक कोपामा सो क्षेत्रका १० टिमले मात्रै भाग लिँदैछन् । विगत वर्षमा १२ देश सहभागी हुन्थे । जसमा त्यस क्षेत्रका १० र दुई टिमलाई पाहुना टोलीका रूपमा निमन्त्रणा गरिन्थ्यो । तर, यसपटक कोरोनाका कारण खेल तालिका छोट्याउनका लागि पाहुना टोलीका रूपमा डाकिएका अस्ट्रेलिया र कतारलाई सहभागी नगराउने निर्णय यसअघि नै भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्