चार साताभित्र १० अक्सिजन प्लान्ट जडान हुने



काठमाडौं, (नेस) ।

कोरोना महामारीसँगै शुरू भएको अक्सिजनको अभाव अन्त्य गर्न ६ वटा नेपाली संस्थाले चार साताभित्र १० अक्सिजन प्लान्ट जडान गर्ने गरी फ्रान्सको मेडिकल अक्सिजन उत्पादक कम्पनी नोभएयरसँग समझदारी गरेका छन् । एक प्रदेशमा कम्तीमा एक अक्सिजन प्लान्ट जडान गर्ने योजनाअनुरूप १० अक्सिजन प्लान्ट जडान गर्ने समझदारी भएको हो ।

बतास फाउन्डेसन, अमेरिका–नेपाल मेडिकल फाउन्डेसन, स्याकार ट्रेडिङ प्रालि, जगदम्बा स्टिल प्रालि, क्रिएसन नेपाल, ह्युम्यानिटी फाउन्डेसन नेपाल र मिसन रिबिल्ड नेपालले सोमबार नोभएयरसँग अक्सिजन जेनेरेटर र अक्सिजन भर्ने प्रणाली जडान गर्न समझदारी गरेका हुन् । नोभएयरसँग समझदारी भएको भच्र्युअल बैठकमा स्याकार ट्रेडिङका अध्यक्ष, सौरभ ज्योति, क्रिएसनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्र, जगदम्बा स्टिलका सञ्चालक शाहिल अग्रवाल, ह्युम्यानिटी फाउन्डेसनका सञ्जय चौधरी, बतास फाउन्डेसनका अध्यक्ष आनन्दराज बतास, अमेरिका नेपाल मेडिकल फाउन्डेसनका डा. भूपेश खड्का, मिसन रिबिल्डका डा. मदन उप्रेतीलगायतको सहभागिता रहेको थियो ।

बतास फाउन्डेसनले गण्डकी प्रदेशमा चार अक्सिजन प्लान्ट र दुई अक्सिजन भर्ने प्रणाली जडान गर्न लगानी गर्ने, अमेरिका–नेपाल मेडिकल फाउन्डेसनले दुई अक्सिजन प्लान्ट र दुई अक्सिज भर्ने प्रणाली जडान, स्याकार ट्रेडिङ, जगदम्बा स्टिल र क्रिएसन नेपालले एक–एक थान अक्सिजन प्लान्ट जडान र ह्युम्यानिटी फाउन्डेसनले एक अक्सिजन प्लान्ट र एक अक्सिजन भर्ने प्रणाली जडान गर्न लगानी गर्ने भएका छन् । मिसन रिबिल्डले भने प्लान्ट निर्माता कम्पनी, सबै संगठन, कार्गो कम्पनी र सरकारी अधिकारीहरूसँग समन्वय गर्ने भएको छ ।

नेपालमा स्थापना गरिने यी १० अक्सिजन प्लान्टबाट प्रतिमिनेट २ हजार ४ सय लिटर अक्सिजन अर्थात् ६ सय ४० थान ठूला सिलिन्डर भर्न मिल्ने बताइएको छ । यो योजनालाई कोकाकोला फाउन्डेसन, एसएनएस ग्रुप नेपाल, अटोवेज प्रालि, केसी ग्रुप, क्वालिटी एग्रिगेट प्रालि, सेल्सबेरी प्रालि, सुपर मादी हाइड्रोपावर प्रालि, अग्नि इन्कर्पोरेटेड प्रालिलगायतले सहयोग गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्