जोकोभिच बेलग्रेड ओपन च्याम्पियन



लन्डन, (एजेन्सी)  ।सर्वियन खेलाडी नोभाक जोकोभिच बेलग्रेड ओपन टेनिसको च्याम्पियन बनेका छन् । विश्वनम्बर एक टेनिस खेलाडी जोकोभिचले फाइनलमा क्वालिफायर्स खेलेर आएका एलेक्स मोलकानलाई हराउँदै उपाधि उचालेका हुन् । प्रतियोगिताको उपाधि जित्न जोकोभिचले ८३औं वरीयताका एलेक्सलाई हराउन ६–४ र ६–३ को सेटमा जित निकाले ।

यसका लागि उनले ८८ मिनेट कोर्टमा खर्चे । एलेक्सले जोकोभिचसँग पहिलो सेटमा राम्रो प्रतिस्पर्धा गरेका थिए । जसमा एलेक्सले पहिलो सेटमा तीन सेट ब्रेक गरेका थिए । जोकोभिचले अन्तिममा खेल सोझो सेटमा जिते पनि एलेक्सले भने बलियो चुनौती दिएका थिए । योसँगै आइतबारबाट शुरू हुने फ्रेन्च ओपनको तयारीमा रहेका जोकोभिचले त्यसको तयारी पनि पूरा गरेका छन् ।
नाडाल र फेडेरर एकै ड्रमा

वर्षको दोस्रो ग्रान्डस्लाम टेनिस प्रतियोगिता फ्रेन्च ओपन आइतबारबाट शुरू भइसकेको छ । फ्रेन्च ओपनको ड्र मा यसपटक नाडालले फाइनल अगाडि नै चिरप्रतिद्वन्द्वी तथा उपाधिका प्रबल दावेदार नोभाक जोकोभिच र रोजर फेडररको सामना गर्नुपर्ने देखिएको छ । यी तीनै खेलाडीलाई एउटै ड्र मा राखिएकोले फाइनल अगाडि नै उनीहरूको भेट हुने सम्भावना प्रबल रहेको बताइएको छ ।

फेडेररले करिव डेढ बर्षपछि प्रतियोगिता खेल्दैछन् । दुई पटक घुँडाको शल्यक्रिया गरेका कारण फेडेरर २०२० मा फ्रेन्च ओपन, यूएस ओपन र यो बर्षको अष्ट्रेलियन ओपनबाट बाहिर रहेका थिए । उनले कतार ओपनबाट पुनरागमन गरेका थिए । तर, उनी क्वाटरफाइनलमा पराजित भएका थिए । यो संस्करणको फ्रेन्च ओपनमा तीनै जना च्याम्पियनलाई एकै ड्र मा राखिएको छ । जसका कारण नाडालले फाइनलभन्दा अगाडि जोकोभिच वा फेडरेरसँग भेट पक्का गर्नेछन् । यसपटक पनि धेरैको नजर भने २० पटकका ग्रान्डस्लाम तथा १३ पटक फ्रेन्च ओपन जितेका रफायल नाडालमा नै हुनेछ । तर, यो पटक उपाधि जित्नका लागि नाडालले धेरै चुनौती पार गर्नुपर्नेछ ।

३१ मे बाट जुन १३ सम्म हुने प्रतियोगितामा यसपटक रातमा पनि खेल हुने जनाइएको छ । फ्रेन्च ओपनमा रातमा पनि खेल हुन लागेको पहिलोपटक हो । अघिल्लो वर्ष फिलिप चैटरियर कोर्टको छत जोडेपछि रातिको समयमा पनि खेल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्