माहुरीसँग एन्जेलिनाको फोटोसुट



हलिउड अभिनेत्री एन्जेलिना जोली जनावरहरुलाई अत्यन्तै माया गर्छिन्। उनी पर्यावरण तथा यसको जगेर्नाका लागि चिन्ता पनि गरिरहन्छिन्। यसैबीच, एन्जेलिनाले हालै मौरी पालनप्रति मानिसको ध्यानाकर्षण गर्नका लागि अचम्मको फोटोसुट गराएकी छिन्। विश्व माहुरी दिवसको अवसरमा माहुरी पालनलाई बढावा दिनका लागि उनले नेसनल जिओग्राफिक म्यागेजिनको लागि गराएको कभर फोटोसुटमा उनी सयौँ माहुरीहरुले घेरिएकी छिन्। फोटोमा केही माहुरी उनको जिउमा टाँसिएको देखिन्छ।

अहिले उनको यो फोटोसुट चर्चामा छ। त्यति धेरै माहुरीका बीच एन्जेलिना कसरी रहिन् भन्नेमा मानिसहरुले चासो देखाएका छन्। एजेन्सीका अनुसार एन्जेलिनाले करिब १८ मिनेटसम्म सयौं माहुरीबीच रहेर फोटोसुट गराएकी थिइन्। उनको शरीरमा धेरै माहुरी टाँसिए पनि ती माहुरीहरुले उनलाई हानी भने पु-याएनन् ।

कालो रङको ब्याकग्राउन्डमा शान्तसँग बसेकी एन्जेलिनाको उक्त फोटोसुट निकै खतरनाक देखिन्छ। फोटोग्राफर ड्यान विन्टर्सले गरेको फोटोसुट निकै सावधानीपूर्वक गरिएको समाचारमा जनाइएको छ। फोटोसुटका लागि शान्त स्वभावको इटालियन जातको माहुरी चुनिएको थियो भने सेटमा एन्जेलिना बाहेकका व्यक्तिले सुरक्षाको लागि विशेष प्रकारका कपडा लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्