खोप खरिदका लागि मन्त्रालयसँग स्वीकृति माग



नेपाल समाचारपत्र, काठमाडौं

पाँचखाल नगरपालिकाले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग स्वीकृति माग्दै मंगलबार निवेदन दर्ता गरेको छ ।

पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले पाँचखाल नगरपालिकामा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेकाले खोप अनिवार्य भएको बताउनुभयो । उहाँले अस्पतालको महँगो शुल्क तिरेर पनि कतिले ज्यान गुमाइरहेका बेलामा नागरिकको जिउज्यानको सुरक्षा महत्वपूर्ण रहेको जिकिर गर्दै खोपका लागि सरकारको मुख ताकेर बस्नुभन्दा नगरपालिका आफैंले खोप खरिदका लागि पहल गर्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सरकारले खोप ल्याउँछ भन्ने आश छ । तर, कहिले ल्याउँछ भनेर हामी जनप्रतिनिधि नागरिकको मृत्यु हेरेर चुप लागेर बस्न सक्दैनौं ।’

सरकारले हामीलाई स्वीकृति दिएको खण्डमा हामी आफ्नै पहलबाट खोप ल्याएर गरिबीका रेखामुनि भएका नागरिकलाई निःशुल्क उपलब्ध गराउँछौं र तिर्न सक्ने नागरिकहरूलाई सशुल्क दिन्छौं । उहाँले सरकारले अनुमति दिए खोप खरिदका लागि नगरपालिकाको बजेट र चन्दा उठाएर भए पनि खोप सबैलाई उपलब्ध गराउने बताउनुभयो । उहाँले खोप खरिदका लागि राज्यले स्वीकृति र मूल्य निर्धारण गरिदिनुपर्नेमा पनि जोड दिनुभयो ।पाँचखाल नगरपालिकाका १८ वर्षमाथिका २० हजार नागरिकका लागि २ डोज खोप लगाउन ४० हजार डोज खोप आवश्यक पर्छ । खोप खरिदका लागि चीनमा भएका शुभेच्छुक मित्रहरू तथा विभिन्न संघ–संस्थासँग पनि छलफल भइरहेको छ । यसका साथै रसियन र भारतीय खोपका लागि पनि छलफल भइरहेको जानकारी दिँदै उहाँले स्वीकृति पाएको एक महिनाभित्र रकम जम्मा गरी प्रक्रिया अघि बढाउने र २ महिनाभित्र खोप जनताका माझमा पु¥याउन सकिने दाबी गर्नुभयो । पाँचखाल नगरपालिकाभित्र कोरोनाको दोस्रो लहर शुरू भएपछि मेयर खरेलसमेत हालसम्म १ सय ७७ पुरुष १ सय ४९ जना महिला सक्रिय कोरोना सङक्रमित छन् भने चार जनाले ज्यान गुमाइसकेका छन् ।

खोप खरिदको स्वीकृति माग्दै आइतबार पाल्पाको रामपुर नगरपालिका मेयर रमणबहादुर थापाले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई भेटेरै नगरकै खर्चमा कोरोनाविरुद्धको खोप खरिद स्वीकृतिका लागि निवेदन दिनुभएको थियो ।यस्तै, स्याङ्जाको वालिङ नगरपालिकाले पनि सोमबार मन्त्रालयमा पत्राचार गरी तीव्ररूपमा कोरोना संक्रमण फैलिएसँगै नागरिकबाट खोपको माग भइरहेकाले खोप उपलब्ध गराउन आग्रह गर्दै उपलब्ध गराउन नसके नगरको आफ्नै खर्चमा मापदण्डअनुसार बाहिरी मुलुकबाट खरिद गर्ने गरी अनुमति दिन अनुरोध गरेको छ ।कोरोना संक्रमणविरुद्ध लड्नका लागि खोपको विकल्प नभएको विज्ञहरूको सुझावसँगै जनस्तरबाटै खोप खरिदका लागि केन्द्र सरकारसमक्ष स्वीकृति माग गर्दै स्वास्थ्य मन्त्रालयमा दैनिकजसो निवेदन दर्ता हुन थालेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्