यसपालिको बुद्धजयन्ती दीप प्रज्वलनमा सीमित



यमलाल भुसाल, बुटवल

२५६५ औं बुद्धजयन्ती कोरोनाका कारण सामान्यरूपमा मनाइने भएको छ । सधैं भव्य समारोहका बीच हुने गरिएकोमा यो वर्ष भने सामान्यरूपमा मनाइने भएको हो । कोरोना महामारीका कारण दीप प्रज्वलन, परित्राण पाठ गरेर सामान्यरूपमा मनाउन लागिएको लुम्बिनी विकास कोषले जनाएको छ । गतबर्ष पनि कोरोना महामारीकै कारण बुद्धजयन्ती पूजापाठमा सीमित भएको थियो । विगतमा राष्ट्रप्रमुख,विदेशी कुटनीतिज्ञहरूको सहभागितामा अन्तर्राष्ट्रिय स्तरको औपचारिक कार्यक्रम हुने गरेकोमा कोरोना संक्रमणको कारण यस बर्ष औपचारिक कार्यक्रम नहुने भएको हो ।

बन्दाबन्दीको कारण गत बर्ष पनि पूजापाठ र सामान्य कार्यक्रम गरेर मनाउन लागिएको लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले जानकारी दिनुभयो ।उहाँका अनुसार बुद्धजयन्तीको दिन बिहान सबै गुम्बा, विहारको प्रतिनिधित्व हुनेगरी मायादेवी परिसरमा उपस्थित हुने र उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश वाचन गरिनेछ । त्यसपछि, पूजापाठ गर्ने, परित्राण पाठ गर्ने र साँझ कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको सम्झनामा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको शाक्यको भनाइ छ ।

कोरोना संक्रमणबाट मृत्यु भएकाको निर्वाणाप्राप्ति होस् भनेर २५६५ वटा दीप प्रज्वलन गरिने लुम्बिनी विकास कोषले जनाएको छ । बुद्ध धर्ममा वैशाख पूर्णिमालाई निकै महत्त्वका साथ लिने गरिन्छ । वैशाख पूर्णिमामा त्रिसंयोग परेको मानिन्छ । सिद्धार्थ गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्त गरेको दिन र बुद्धको ८० वर्षको उमेरमा महापरीनिर्वाण भएको दिन पनि वैशाख पूर्णिमाकै दिन हो । गौतमबुद्धको जन्म २५६५ वर्षअघि हालको लुम्बिनी जन्म भएको थियो ।

प्रतिक्रिया दिनुहोस्