बुन्डेसलिगामा लेवान्डोस्कीको कीर्तिमान



लन्डन, (एजेन्सी)

जर्मन क्लब बार्यन म्युनिखका स्टार रोवर्ट लेवान्डोस्कीले घरेलु लिग बुन्डेसलिगामा नयाँ कीर्तिमान कायम गरेका छन् ।
लेवान्डोस्कीले जर्मन बुन्डेसलिगाको एकै सिजन सर्वाधिक ४१ गोल गरेर नयाँ कीर्तिमान बनाएका हुन् । यस क्रममा उनले बार्यन तथा जर्मनीका लिजेन्ड खेलाडी गर्ड मुलरका नाममा रहेको सिंगल सिजनको सर्वाधिक गोल संख्याको कीर्तिमान भंग गरेका हुन् । यसअघि, नै जारी सिजनको बुन्डेसलिगा च्याम्पियन बनिसकेको बार्यनले शनिबार राति भएको सिजनको अन्तिम खेलमा अग्सवर्गलाई ५–२ ले हराएको थियो । बार्यनले आफ्नो घरमा पाहुना टोलीलाई फराकिलो गोलअन्तरले हराउनेक्रममा पोलिस फरवार्डले खेलको ९०औं मिनेटमा गोल गरेका थिए । उनले गोलकिपरबाट रिबाउन्ड भएको बललाई प्रहार गर्दै गोल गर्न सफल भएका थिए ।

लेवान्डोस्कीका लागि उक्त गोल यो सिजन बुन्डेसलिगामा गरेको कुल ४१औं गोल थियो । त्यही गोलपछि उनले मुलरको रेकर्ड भंग गरेका हुन् । मुलरले सन् १९६४ देखि १९७९ सम्म १५ सिजन बार्यनमा बिताउनेक्रममा सिजन १९७१–७२ एकै सिजनमा कुल ४० गोल गरेका थिए, जुन बुन्डेसलिगा इतिहासमै यसअघि कीर्तिमानी हो । सो रेकर्ड लेवान्डोस्कीले ४९ वर्षपछि तोडेका हुन् । मुलरले त्यो बेला ३४ खेलबाट ४० गोल गरेका थिए भने लेवान्डोस्कीले उनको भन्दा ४ खेल कमबाटै ४१ गोल गरे । यसअघि, उनले लिगको ३७औं साताको खेलबाट मुलरको कीर्तिमानसँग बराबरी गरेका थिए ।जारी सिजनलाई निकै शानदार बनाएका लेवान्डोस्कीले घरेलु लिगमा मात्रै कुल ३० खेलबाट ४१ गोल गरे भने सात गोलमा असिस्ट पनि गरे । उनले निकै कम खेलबाट यो सिजन ४१ गोल दर्ता गर्दै युरोपियन टप–५ लिगको सर्वाधिक गोलकर्ता बन्दै करिअरमै पहिलोपटक युरोपियन गोल्डेन बुट पनि जित्न सफल भए ।

लेवान्डोस्कीको कीर्तिमानी गोलसँगै जर्मन बुन्डेसलिगा च्याम्पियन बनिसकेको बायर्न म्युनिखले जारी सिजनको सुखद अन्त्यसमेत गरेको छ । लगातार नवौंपटक च्याम्पियन बनेको बायर्नले शनिबार राति घरेलु मैदानमा भएको खेलमा अग्सवर्गलाई ५–२ ले पराजित गर्दै सिजनको सुखद अन्त्य गरेको हो । एलिएन्ज एरिनामा बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीसहित सर्ज जिनाब्री, योसुवा किम्मिच र किङ्सले कोमानले गोल गर्दा एक गोल उपहार पाएको थियो । अग्सवर्गका तर्फबाट भने आन्द्रे हान र फ्लोरियन नाइडरलेचनरले गोल फर्काएका थिए ।यो जितपछि बायर्नले ३४ खेलबाट ७८ अंक जोड्यो । बायर्नले दोस्रो स्थानको आरबी लेइप्जिगलाई १२ अंकले पछि पा¥यो । पराजित अग्सवर्गले ३६ अंक जोडेर १४औं स्थानमा लिगको अन्त्य गरेको छ । यही खेलबाट बायर्नले मुख्य प्रशिक्षक हान्सी फ्लिक, सहायक प्रशिक्षक हर्मन जरल्यान्ड र मिरोस्लाभ क्लोजसँगै खेलाडीत्रय डेभिड अल्बा, जेरोमी बोएटिङ र जाभी मार्टिनेजलाई पनि सुखद बिदाई गरेको छ ।

प्रतिक्रिया दिनुहोस्