बेलायतले नेपाललाई २० लाख डोज खोप दिने

विदेशी सहयोग आउनेक्रम जारी



काठमाडौं, (नेस)

नेपालमा कोरोना संक्रमणले भयावह रूप लिइरहेका बेला बेलायतले नेपाललाई खोप पठाएर कोरोना नियन्त्रणमा सहयोग गर्ने भएको छ भने शनिबार अमेरिका, स्वीजरल्यान्ड र चीनको सहयोग पनि प्राप्त भएको छ ।नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शनिबार स्वास्थ्यमन्त्री हृद्येश त्रिपाठीलाई भेटेर बेलायतले कोभ्याक्स कार्यक्रमअन्तर्गत नेपाललाई कोरानाविरुद्धको बेलायतमा विकास गरिएको खोप एस्ट्राजेनेका २० लाख जोड खोप उपलब्ध गराउने जानकारी दिनुभएको हो ।

बेलायती संसद्को उपल्लो सदन हाउस अफ लड्र्समा बिहीबार नेपालमा कोरोनाको स्थिति भयावह बन्दै गइरहेको भन्नेबारे लामै छलफल भएपछि बेलायतले सरकारले नेपाललाई खोप सहयोग गर्ने जानकारी लिएको हो । यसअघि पनि बेलायतको समेत सहयोग रहेको कोभ्यास कार्यक्रमअन्तर्गत नेपालले भारतमा बनेको कोरोनाविरुद्धको खोप कोभिसिल्डको ३ लाख ४८ हजार मात्रा खोप प्राप्त गरिसकेको छ ।
यसैबीच अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) को तर्फबाट नेपाललाई उपलब्ध गराइएको आपत्कालीन सहयोग बोकेको ३ वटा चार्टड कार्गोमध्येको पहिलो उडान शनिबार काठमाडौं आइपुगेको छ ।उक्त कार्गोमा सर्जिकल मास्क, फेससिल्ड र पन्जाहरू रहको परराष्ट्र मन्त्रालयले जनाएको छ । यूएसएआईडीका पदाधिकारीहरूले उक्त सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलाई हस्तान्तरण गरेका थिए । मन्त्रालयका अनुसार अमेरिकाबाट आइतबार सय थान भेन्टिलेटरसहित कोरोना परीक्षण गर्ने सामग्री र अक्सिजनसम्बन्धी अन्य सामग्री, पीपीईलगायतका स्वास्थ्य सामग्रीहरू आइपुग्दै छ ।अमेरिकी दूतावासले यी स्वास्थ्य उपकरण तथा सामग्रीहरूले नेपाली स्वास्थ्यकर्मी र जनतालाई कोभिड–१९ विरुद्धको लडाइँमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

त्यसै गरी, स्विजरल्यान्डले पनि नेपाललाई ४० भेन्टिलेटर, १० अक्सिजन कन्सन्ट्रेटर र १ लाखभन्दा बढी एन्टिजेन्ट किटका साथै मास्क, पन्जा, पीपीईलगायतका स्वास्थ्य सामग्री सहयोग गरेको छ ।८० लाख अमेरिकी डलर अर्थात् करिब ९४ करोड नेपाली रुपियाँ बराबरको उक्त स्वास्थ्य सामग्री स्विस राजदूत एलिजाबेथ भोन क्यापेलरले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्नुभएको छ ।शनिबार नै चीनको स्वशासित क्षेत्र तिब्बतले आकस्मिक प्रयोगका लागि नेपाललाई सहयोगस्वरूप उलपब्ध गराएको ३० हजार लिटर तरल अक्सिजन, ८ सय थान भरिएको अक्सिजन सिलिन्डर, १० अक्सिजन कन्सन्ट्रेटर, ५ भेन्टिलेटर, २ सय थान आईसीयू बेड र १५ सय थान एन्टिजेन्ट टेस्ट किट तातोपानी नाकामा नेपाललाई हस्तान्तरण गरिसकेको छ ।

यसैबीच जर्मनीको एक गैरसरकारी संस्था ‘ब्याक टु लाइफ’ ले वागमती प्रदेश सरकारलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।संस्थाले प्रदेश सरकारलाई २ थान मोबाइल एक्सरे, १८ थान अक्सिजन कन्स्ट्रेटर, ५ थान इन्फ्युजन पम्प, ५ थान सिरिन्ज पम्प, २ हजार ७ सय फेससिल्ड, १ हजार १ सय वटा पीपीई, ३० थान पेसेन्ट मोनिटर, १० थान इलेक्ट्रो कार्डियोग्रामका साथै १ लाख सर्जिकल मास्क र ६ हजार केएन ९५ मास्क प्रदान गरेको हो । करिब १ करोड ७० लाख रुपियाँ बराबरका यी स्वास्थ्य उपकरण तथा सामग्रीहरू प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्