पत्रकारको निःशुल्क पीसीआर



बुटवल, (नेस)

लुम्बिनी प्रेस क्लबले संस्थामा आबद्ध पत्रकारहरुको निःशुल्क कोरोना (पीसीआर) परीक्षण शुरु गरेको छ । क्लबले नेसनल प्याथ ल्याब प्रालिको सहयोगमा क्लबमा आबद्ध पत्रकारहरुको पीसीआर परीक्षण शुरु गरेको हो ।

क्लबका अध्यक्ष नरेश केसीका अनुसार क्लबमा आबद्ध ३८ पत्रकारको पीसीआर परीक्षण बिहीबारबाट शुरु भएको छ । अघिल्लो वर्ष पनि क्लबमा आबद्ध पत्रकारको निःशुल्क परीक्षण गरेको क्लबका अध्यक्ष केसीले बताउनुभयो । गत वर्ष सिद्धार्थ लेडी जेसिजको सहयोगमा पत्रकारको पीसीआर जाँच भएको थियो ।क्लबमा भैरहवा, धकधई, मर्चवार र लुम्बिनी क्षेत्रका पत्रकारहरु आबद्ध छन् । ‘सधैं नागरिकलाई सुसूचित गराउनका लागि समाचार संकलनमा खट्ने पत्रकारहरु जोखिममा हुनुहुन्छ, यसैले हामीले नेसनल प्याथ ल्याबसँग सहकार्य गरी पीसीआर परीक्षण शुरु गरेका हौं,’ अध्यक्ष केसीले भन्नुभयो– ‘यसले पत्रकार साथीहरुलाई आफ्नो स्वास्थ्यबारे जानकारी हुने र फिल्डमा खट्न थप हौसला मिल्ने हाम्रो अपेक्षा छ ।’

क्लबमा आबद्ध पत्रकारहरुले पीसीआर जाँच गर्न चाहेमा भैरहवास्थित सिद्धार्थ बसपार्कमा रहेको नेसनल प्याथ ल्याबको कार्यालयमा गएर निःशुल्क जाँच गर्न सक्ने कोषाध्यक्ष प्रकाश न्यौपानेले बताउनुभयो । त्यस्ते, नेसनल प्याथ ल्याबका सञ्चालक रुद्र कार्कीले फ्रन्टलाइनमा रहेर सधै खट्ने पत्रकारहरुलाई सामाजिक उत्तरदायित्वअन्तर्गत प्रेस क्लबको अनुरोधलाई स्वीकार गर्दै निःशुल्क पीसीआर परीक्षण गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्