बनेपा शिल हुँदा जिल्ला सुनसान



मोतीराम तिमल्सिना , काभ्रे । 

काभ्रे जिल्लामा तेश्रो पटक सोमबारबाट थप १० दिन जेठ १२ गतेसम्म निषेधाज्ञा गरिएको भए पनि बनेपा नगरपालिकाले बुधबार विहानबाट जारी गरेको नगर क्षेत्रको शिलका कारण जिल्ला सुनसान भएको छ । बनेपा नगरपालिकाले नगरका १४ वटै वडामा अस्पताल र औषधी पसल बाहेक सबै पसल तथा उद्योग कलकारखाना बन्द गर्ने निर्णय गरेको थियो ।

नगरपालिकाले गरेको अनुरोधलाई नगरबासिले इमान्दारिपुर्वक पालना गर्नु भएको छ’–प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतिले भन्नुभयो– ‘७ दिनमा कोरोना संक्रमण फैलन नदिने, रोगको पहिचान गर्ने, उपचारमा ध्यान दिने गरी योजना बनाएका छौं ।’ प्रशासनको निषेधाज्ञा भन्दा कडा हुने गरी बनेपा नगरपालिकाले १४ वटै वडामा कडा लकडाउन गरेको छ । जेठ ४ गते मध्यराति देखि शुरु गरेको लकडाउन १२ गते राति १२ बजेसम्म हुनेछ । लकडाउनको सममयमा औषधी र अस्पताल बाहेक सबै खालका पसलहरु बन्द हुनेछन् । दुरसञ्चार र विद्युत्त प्राधिकरण बाहेक सबै खालका कार्यालयहरु पनि बन्द हुनेछन् । दुध, तरकारी, खाद्यान्न समेत बन्द गरे पछि कोरोना संक्रमण फैलन नदिन गरिएको बनेपा नगरपालिकाको प्रयास सार्थक हुने नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादेले बताउनु भयो । कोरोना भाइरसका संक्रमित ब्यक्तिहरुको उपचार, रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले विशेष ध्यान दिएको प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतिले जानकारी दिनु भयो ।

पहिलो र दोश्रो पटक जारी गरिएको निषेधाज्ञा जिल्लाका केहि स्थानमा मात्रै थियो । ‘सोमबारबाट तेश्रो पटक थप १० दिनको निषेधाज्ञा जिल्लाभर जारी गरिएको छ’–प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भन्नुभयो–‘यस अघि संक्रमण फैलन नदिन जिल्लाका प्रमुख राजमार्ग र शहरी क्षेत्रमा मात्रै निषेधाज्ञा गरिएको थियो । संक्रमण ग्रामिण भेगमा समेत फैलन थालेपछि काभ्रेपलाञ्चोक जिल्लाको सबै क्षेत्रमा निषेधाज्ञा लागु गरिएको हो ।’ यस अघि अत्यावश्यक खाद्यान्न तथा तरकारी पसल खोल्ने समय विहान र बेलुका कायम गरिएको थियो । ‘सिमित क्षेत्र र स्थानको निषेधाज्ञालाई फराकिलो बनाउँदै सक्रमण नियन्त्रणको प्रयास गरिएको छ’– प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भन्नुभयो–‘संक्रमित विरामीहरुको बढ्दै गएको र उपत्यकामा समेत निषेधाज्ञा जारी रहेकाले निषेधाज्ञाको अवधी बढाउने निर्णय गरेका छौं ।’त्यस्तै नमोबुद्ध नगरपालिका क्षेत्र एक साताका लागि शिल गरिने भएको छ । नमोबुद्ध नगरपालिकाले नगरभित्र कोरोना भाइरस संक्रमण रोकथाम एवं नियन्त्रणका लागि गए राति १२ बजे देखि जेठ १२ गते राती १२ बजेसम्म नगरपालिकाको सम्पूर्ण क्षेत्र शिल गर्ने निर्णय गरेको हो । नगरभित्र समुदायस्तरमै कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीब्ररुपमा बढ्दै गएपछि शिल गर्ने निर्णय गरिएको नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले जानकारी दिए ।

यो अवधीमा औषधि पसल, अस्पताल र अन्य स्वास्थ्य संस्था-स्वास्थ्य सेवा प्रदायक बाहेकका अन्य खाद्यान्न पसल, तरकारी पसल, दुधजन्य पदार्थ पसल, मासुजन्य पसल, फलफूल पसल लगायतका सम्पूर्ण व्यवसायहरु शिल गरिएको अवधि भर पूर्ण रुपमा बन्द गर्न नगरपालिकाले अपिल गरेको छ । यस्तै बैंक, सहकारी, बिमा कम्पनी लगायतका वित्तीय संस्थाहरु शिल गरिएको अवधिभर पूर्णरुपमा बन्द गर्ने तथा अत्यावश्यक सेवा प्रदान गर्ने निजी तथा सार्वजनिक कार्यालय बाहेक अन्य सम्पूर्ण कार्यालयहरु शिल गरिएको अवधि भर पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्