ओखलढुंगामा कोभिड–१९ केयर युनिटमा भेन्टिलेटर राख्न पहल



लिला सुनुवारर, ओखलढुंगा ।

सामुदायिक अस्पताल ओखलढुंगामा स्थापना गरिएको कोभिड १९ केयर युनिटमा भेन्टिलेटरसहितको सेवा दिने पहल थालिएको छ । अक्सिजनसहित २० वेडको कोभिड केयर सेन्टर स्थापना गरिएपछि १३ जना कोरोना संक्रमित उपचाररत छन् ।अस्पतालमा भेन्टिलेटरसहितको उपचार सेवा सुचारु गर्न स्वास्थ्य मन्त्रालयमा जिल्ला संकट व्यवस्थापनको केन्द्रको बैठकबाट माग गरिएको स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले जानकारी दिए ।

प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवारको उपस्थितिमा बसेको बैठकले स्वास्थ्य मन्त्रालयमा माग गर्ने र त्यसको समन्वय सांसदले गर्ने निर्णय भएको छ । साुमदायिक अस्पताल मिसनमा रहेको कोभिड केयर सेन्टरमा तिन वटा भेन्टिलेटरसहितको सेवा दिन सकेमा कोभिड बाहेकाका विरामीको उपचार गर्न समेत हेलिकोप्टर चार्टर गर्नु पर्ने बाध्यता हट्ने सांसद सुनुवारले बताए ।उनले भने, ‘बैठकले निर्णय गरेर माग गरिएको छ, कम्तिमा १ करोड बजेट भएमा भेन्टिलेटर सहितको उपचार सेवा दिन सकिने अस्पतालले जानकारी गराएकाले त्यसको पहल भइरहेको छ ।’जिल्लामा सामुदायिक अस्पतालमा मिनि अक्सिजन प्लान्ट सञ्चालनमा रहेकाले विरामीको उपचारमा सहज भएको छ ।

सरकारी अस्पताल रुम्जाटार अस्पतालमा भने कोभिडका विरामीका लागि ७ वेड व्यवस्थापन गरिएको छ भने अक्सिजन तथा भेन्टिलेटर कुनै सुविधा नभएकाले विरामी उपचार गर्न पैसा तिरेर भए पनि सामुदायिक अस्पतालमै जाने गरेका छन् । जिल्लामा भेन्टिलेटरसहितको सेवा दिन जनशक्ति व्यवस्थापन आवश्यक भए पनि जिल्ला अस्पताल र सामुदायिक अस्पतालका स्वास्थ्यकर्मीलाई तालिम दिएर खटाउन सकिने सामुदायिक अस्पताल मिसनका निर्देशक युवराज आचार्यले बताए । बृहत परिक्षणका लागि किट तथा सघन उपचारका लागि भेन्टिलेटर व्यवस्थापनका लागि मन्त्रालयमा सांसदमार्फत पहल भइरहेको उनको भनाइ छ ।

तस्वीरः जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकमा सांसदलगायत सुरक्षा अधिकारीहरु ।

प्रतिक्रिया दिनुहोस्