महानगरले बनायो ५१ बेडको आइसोलेसन



नेपाल समाचारपत्र, विराटनगर

कोरोना संक्रमितको उपचारका लागि विराटनगर महानगरपालिकाले नयाँ स्थानमा सुविधासम्पन्न आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । महानगरले अक्सिजन र आवश्यक थप सुविधासहित ५१ बेडको नमुना आइसोलेसन सञ्चालनमा ल्याएको हो ।

दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपचारमा सहजताका निम्ति विराटनगर महानगरपालिकाले आइसोलेसन केन्द्रहरु विस्तार गर्दै लगेको छ । पछिल्लो समय विराटनगर महानगरपालिकाले वडानम्बर १ भट्टाचोकमा रहेको आरआरएन भवनमा ५१ बेड क्षमतको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । महानगरपालिकाले सामुदायिक उत्थानमा सक्रिय संस्था आरआरएन, एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट, नेपाल (अफिन) र मारवाडी युवा मञ्चसँग सहकार्य गर्दै ५१ बेडको नमुना आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको हो । पब्लिक प्राइभेटको अवधारणाअनुसार नै आफूहरुले सहकार्य गर्दै आइसोलेसन सञ्चालनमा ल्याएको आरआरएनका संस्थापक अध्यक्ष एवं पूर्वराजदूत अर्जुन कार्कीले बताउनुभयो ।

सञ्चालनमा ल्याइएको आइसोलेसन वार्डमा महिला र पुरुष दुवैका लागि वेडहरु राखिएको छ भने संक्रमितलाई आवश्यक पर्नसक्ने अक्सिजन सिलिन्डर, बाफ लिने व्यवस्था र अक्सिमिटरलगायतका उपकरणहरुसमेत प्रत्येक बेडका लागि छुट्टयाइएको छ । नयाँ आइसोलेसन सञ्चालनमा आएपछि उपचार सेवा प्रवाह गर्न थप सहज हुने महानगरका मेयर भीम पराजुलीले विश्वास व्यक्त गर्नुभयो । आइसोलेशन सञ्चालनमा आउनुपूर्व महानगरका मेयर पराजुली र मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलालगायत साझेदार संस्थाका पदाधिकारीहरुले आइसोलेसन केन्द्रको अवलोकन निरीक्षण गर्नुभएको थियो ।

यसअघि विराटनगर महानगरपालिकामा कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा ९० बेड, १९ नम्बर वडाको बैजनाथपुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा २० बेड, १२ नम्बर वडाको सामुदायिक भवनमा २५ बेडको आइसोलेसन केन्द्र सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्