अस्पताललाई प्रदेश र स्थानीय पालिकाको साथ



हेटौंडा, (नेस)

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारमातहतका सबै अस्पतालमा क्षमताअनुसार अक्सिजन प्लान्ट निर्माणका लागि खरिद प्रक्रिया प्रारम्भ भइसकेको बताउनुभएको छ । उहाँले प्रदेशका १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमुख, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका प्रमुख तथा उपप्रमुखलाई भर्चुअलरूपमा यस्तो बताउनुभएको हो ।

तत्कालका लागि अस्पताललाई आवश्यकता परेका समस्या समाधान गर्न सरकारले गर्नुपर्ने काममा सरकार तयार रहेको समेत पौडेलले स्पष्ट पार्नुभएको थियो । हेटौंडा उपमहानगरपालिकाले पनि हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि १ करोड २८ लाख रुपियाँ लगानी गर्ने भएको छ ।कोरोना भाइरस संक्रमण बढेसँगै हेटौंडामा अक्सिजन आवश्यक पर्ने संक्रमित बढेपछि अक्सिजन अभावका कारण संक्रमितले अकालमा ज्यान गुमाउने अवस्थाको नहोस् भनेर विकास बजेट कटौती गरेर अस्पतालमा अक्सिजन जेनेरेटर प्लान्ट स्थापना गर्न बजेट छुट्याएको उपमहानगर मेयर हरिबहादुर महतले बताउनुभयो ।उपमहानगरपालिकाले प्लान्ट निर्माणमा केही समय लाग्ने देखेपछि हाल दैनिकरूपमा कम्तीमा एक सय सिलिन्डर अक्सिजन ल्याउन व्यवस्थापन गरेको छ । उपमहानगरपालिकाले अक्सिजन प्लान्ट स्थापनाका लागि सरोकारवाला निकायसँग छलफल गरेको थियो ।

विकल्पमा ड्राई आइसोलेसन

थाहानगरमा होम आइसोलेसनमा बसिरहेका कोरोना संक्रमितलाई लक्षित गरी वडा–१ को कुन्छालमा ड्राई आइसोलेसन सेन्टर सञ्चालन हुने भएको छ ।कुन्छालस्थित गुठी भवनमा आवश्यक बेड व्यवस्था गरी सेन्टर सञ्चालन गर्न लागिएको कोरोना टोल रोकथाम तथा नियन्त्रण समितिका सदस्य रूपचन्द्र गोपालीले बताउनुभएको छ । हालसम्म १६ बेड तयार भइसकेको उहाँले जनाउनुभयो ।सेन्टर सञ्चालनका लागि वडा कार्यालयबाट १ लाख अनुदान सहयोग गरिएको वडाध्यक्ष हेरमान गोपाली बताउनुहुन्छ । सेन्टर सञ्चालनका लागि जनस्तरबाट समेत आर्थिक संकलन भइरहेको समितिले जनाएको छ ।

थाहानगरमा आइतबारसम्म कुल २ सय २ जना संक्रमित भएका छन् भने १ नम्बर वडामा मात्र ३१ जना संक्रमित छन् । संक्रमित सबै होम आइसोलेसनमा छन् ।संक्रमित होम आइसोलेसनमा रहेपछि परिवारका अन्य सदस्य पनि जोखिममा रहेकाले समितिले सेन्टर सञ्चालनको योजना बनाएको हो । नगरपालिकाद्वारा तयार गरिएको बज्रवाराही चौरस्थित आइसोलेसन सञ्चालनको अन्तिम तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्