टोकलालाई नगर प्रमुखको निर्देशन

स्वास्थ्य मापदण्ड पालना गर



उत्तम नेपाल, भद्रपुर

टोकला चिया बगान प्रशासनलाई विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्न सोमबार निर्देशन दिइएको छ । मेचीनगर नगरपालिकाको ७ र ८ नम्बर वडामा सञ्चालित टोकला चिया कमान स्वास्थ्य मापदण्ड पालना नगरी सञ्चालनमा रहेको गुनासो आएपछि नगर प्रमुख विमल आचार्यको टोलीले कारखानामै पुगेर यस्तो निर्देशन दिएको हो ।

नगर प्रमुख विमल आचार्यको नेतृत्वमा उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर–८ का वडाध्यक्ष विकेन्द्र धिमाल, वडा सदस्य गङ्गा पाठक, इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक सुनील दाहाललगायतको टोली कारखानामा पुगेको थियो । ‘टोकला चिया बगानले सरकारको निर्णयलाई अटेर गरी निर्वाधरूपमा सञ्चालन गरेको गुनासो प्राप्त भएपछि नगरपालिकाको तर्फबाट हामी त्यहाँ पुग्यौं’, नगरप्रमुख आचार्यले भन्नुभयो– ‘हामीले बगान प्रशासनलाई स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै श्रमिकलाई काममा लगाउन निर्देशन दिएका छौं ।’

हरेक दिन गाउँ–गाउँबाट श्रमिक आउने–जाने क्रम बन्द गर्न र उद्योगभित्र कार्यरत मजदुरहरुलाई बाहिर खुलारूपमा आवत–जावत गर्न नदिई भित्रै सुरक्षा सामग्री प्रयोग गरेर काममा लगाउन नगरपालिकाले बगान प्रशासनलाई भनेको छ ।जिल्ला प्रशासन कार्यालय झापाले कोरोना सङ्क्रमण नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञाको समयमा उद्योग सञ्चालकहरुले उद्योग सञ्चालन गर्नुपरे सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड मानेर मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको थियो । तर, सयांै बिगाह क्षेत्रफलमा रहेकोे कमान स्वास्थ्य मापदण्डको पालना नगरी सञ्चालनमा रहेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्