होम आइसोलेसनको बिकल्पमा ड्राइ आइसोलेसन



हेटौंडा, (नेस)

थाहानगरमा होम आइसोलेसनमा बसिरहेका कोरोना संक्रमितहरु लक्षित गरी वडा–१ को कुन्छालमा ड्राइ आइसोलेसन सेन्टर सञ्चालन हुने भएको छ ।

कुन्छालस्थित गुठी भवनमा आवश्यक बेड व्यबस्था गरी सेन्टर सञ्चालन गर्न लागिएको कोरोना टोल रोकथाम तथा नियन्त्रण समितिका सदस्य रुपचन्द्र गोपालीले बताउनुभएको छ । हालसम्म १६ बेड तयार भइसकेको जनाइएको छ ।सेन्टर सञ्चालनका लागि वडा कार्यालयबाट एक लाख अनुदान सहयोग गरिएको वडाध्यक्ष हेरमान गोपालीले बताउनुभयो । सेन्टर सञ्चालनका लागि जनस्तरबाटसमेत आर्थिक संकलन भइरहेको समितिले जनाएको छ । थाहानगरमा आइतबारसम्म कुल २ सय २ जना संक्रमित भएका छन् भने १ नम्बर वडामा मात्र ३१ जना संक्रमित छन् । संक्रमित सबै होम आइसोलेसनमा छन् ।

संक्रमित होम आइसोलेसनमा रहेपछि परिवारका अन्य सदस्य पनि जोखिममा रहेकाले समितिले सेन्टर सञ्चालनको योजना बनाएको हो । नगरपालिकाद्वारा तयार गरिएको बज्रबाराही चौरस्थित आइसोलेसन सञ्चालनको अन्तिम तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्