वैशाखमै दन्कियो कोरोनाको आगो



नेपाल समाचारपत्र, बाँके

बाँकेमा कोरोनाले एक वर्षदेखि दुःख दिइरहेको छ । २०७७ साल वैशाख १९ गते पहिलो संक्रमित फेला परेको बाँकेमा जेठ ३ गतेबाट मृत्युको सिलसिला शुरू भएको थियो ।२०७७ वैशाख १९ गतेदेखि चैत्र मसान्तसम्मको एक वर्षमा बाँकेमा ४ हजार ९ सय ५८ जना संक्रमित भए । त्यसमा ४ हजार ७ सय २ जना डिस्चार्ज भए । ५८ जनाको मृत्यु भयो ।

यो एक वर्षलाई २०७८ सालको वैशाख महिनाले मात्रै उछिनेको छ । वैशाखमा दोब्बर बढी संक्रमित भए, झन्डै तेब्बर संख्यामा मृत्यु भएको छ ।बाँकेको यो तथ्यांकले दोस्रो लहरको कोरोना खतरनाक रहेको देखिन्छ । कोरोनाको हिसाबले बाँके पहिलो वर्ष पनि हटस्पट बनेको थियो । यो वैशाख महिनामा पनि बन्यो । संक्रमित र मृत्यु संख्यालाई हेर्दा एक वर्षलाई एक महिनाले धेरै पछाडि पारेको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार वैशाख महिनामा १० हजार १ सय १४ जना संक्रमित भए । ६ हजार ४ सय ७० जना डिस्चार्ज भएका छन् । मृतकको संख्या १ सय ६७ पुगेको छ । बाँकेमा शुरूदेखि वैशाख मसान्तसम्ममा १५ हजार ७२ जना संक्रमित भएका छन् । ११ हजार १ सय ७२ जना डिस्चार्ज भएका छन् । २ सय २५ जनाको मृत्यु भएको छ ।पहिलो लहरको कोरोना महामारीमा समयमै संक्रमितको सम्पर्कमा आएका÷रहेकाको सोधीखोजी गरियो । धेरै संक्रमित देखिएका टोललाई सिल गर्ने काम भयो । मृतकलाई नेपाली सेनाले मात्रै व्यवस्थापन गरे । अस्पतालमा आफन्ती वा कुरुवाको भीड लागेन । सरकारले अगाडिदेखि नै लकडाउन गरेको थियो ।

दोस्रो चरणमा केही सावधानीका सवालमा केही ढिलाइ भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेको वैशाख ३ गतेको बैठकमै भेरी अस्पतालका मेसु डा. प्रकाश थापाले तत्काल लकडाउन गर्न पटक–पटक आग्रह गरेका थिए । भर्खरै जिल्लामा आएका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले त्यसलाई गम्भीरतापूर्वक लिएनन् । वैशाख ९ गते आएर नेपालगञ्ज एरियालाई निषेधाज्ञा लगाउने काम भयो । यतिबेलासम्ममा ढिला भइसकेको स्वास्थ्यकर्मी बताउँछन् । वैशाख १३ गतेदेखि हालसम्म स्थानीय प्रशासनले जिल्लाभरि नै निषेधाज्ञा लगाइरहेको छ ।दोस्रो लहर शुरू भइसक्दा बाँकेमा मान्छेको मुभमेन्ट रोक्न, भारतबाट आएकालाई जाँच गरेर मात्रै घर पठाउने काममा ढिलाइ, अस्पतालमा कुरुवा वा आफन्तको भीडभाड, जो भित्र र बाहिरी गरिरहे, आफन्तीबाट शव व्यवस्थापन र सबैभन्दा खतरनाक त पहिलो चरणको जस्तो सम्झिएर कोरोनालाई सामान्यरूपमा लिइदा वैशाखमा कोरोनाको आगो दन्किन पुगेको विश्लेषकहरू बताउँछन् ।
पहिलो वर्षजस्तो दोस्रो पनि नेपालगञ्ज कोरोनाका हटस्पट नै बन्यो । देशभरिकै ध्यान नेपालगञ्जमाथि प-यो ।

यो वर्ष सबैभन्दा खोजीको विषय अक्सिजन प-यो । अक्सिजनको समस्याको समाधान त अझै भइसकेको छैन । नेपालगञ्ज मात्रै नभएर बाँके जिल्ला नै अझै जोखिममा अगाडि नै रहेको छ । अनावश्यक बाहिर ननिस्किने, निस्किन परे वा घर आसपासमा रहँदा पनि स्वास्थ्य मापदण्डको पालना गर्न आवश्यक देखिएको छ । जिल्लामा ठूलो संख्या होम आइसोलेसनमा रहेका छन् । होम आइसोलेसनमा रहेकाहरूले चिकित्सकसँग परामर्श लिइरहने र अलिकति अप्ठेरो हुँदा अस्पताल आउने गर्न आवश्यक छ । होम आइसोलेसनमा रहेकाहरू अन्तिम अवस्थामा मात्रै अस्पताल आइपुग्दा मृत्युदर बढेको छ । कतिपयको होम आइसोलेसनमै मृत्यु भएको छ ।पछिल्लो दिनमा ओम आइसोलेसनमा बसेकालाई वडाहरूले निगरानी बढाएका छन् । कतिपय वडाध्यक्ष चिकित्सक लिएर घरघरमा पुगेका छन् भने केहीले चिकित्सकको सम्पर्क नम्बर दिएर आवश्यक पर्दा सल्लाह लिन सकिने बताएका छन् ।यसैबीच, नेपाल चिकित्सक संघ, नेपालगञ्जले होम आइसोलेसनमा बसेका संक्रमितलाई परामर्श दिन चिकित्सक परिचालन गरेको छ । संघका अध्यक्ष डा. विनोद कर्णले नेपालगञ्जका २३ वटै वडामा परामर्शका लागि चिकित्सक तोकिएको बताउनुभयो । संघले वडामा खटाइएका चिकित्सकलाई फोनबाट नै परामर्श लिन सक्ने जनाएको छ । त्यसअनुसार नै सबै चिकित्सकको मोबाइल नम्बर उपलब्ध गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्