कोभिडसँग लड्न बलिउड कलाकारले बढाए सहयोगका हात



कोरोना महामारीको दोस्रो लहरका कारण भारतको अवस्था दयनीय बनेको छ। अस्पतालमा रहेका बिरामी अक्सिजनको अभावका कारण ज्यान गुमाइरहेका छन् भने कोरोना संक्रमण हुने मानिसको संख्या पनि दिनानुदिन बढ्दो छ।

कोरोनाबाट आम मानिसदेखि उच्च पदस्थ व्यक्तिका साथमा कट्रिना कैफ, अर्जुन रामपालजस्ता कयौं बलिउड कलाकारहरूसमेत संक्रमित भइसकेका छन्। कोरोना संक्रमणका कारण देश दयनीय अवस्थामा पुगेको समयमा भारतका विभिन्न स्थानमा लगाइएको लकडाउन छलेर माल्दिभ्स पुगी रमाइलो गरेर सामाजिक सञ्जालमा फोटो सेयर गरेकोमा आलोचित बनेकी अभिनेत्री दीपिका पादुकोणमा पनि कोरोना संक्रमण देखिएको छ। उनका साथै उनकी आमा, बुबा र बहिनीलाई पनि कोरोना संंक्रमण देखिएपछि उनीहरू सबैजना आइसोलेसनमा छन्। दीपिकाका साथै उनका अभिनेता पति रणवीर सिंहसहित टाइगर श्राफ, अभिनेत्री दिशा पटानी, आलिया भट्टजस्ता केही कलाकारले माल्दिभ्स पुगेर रमाइलो गरेको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेपछि आलोचनाको शिकार बनेका थिए। बलिउडका केही कलाकार भने कोरोना महामारीको अवस्थामा मानिसहरूको मद्दतको लागि अगाडि आइरहेका छन्।

कोरोना प्रभावित व्यक्तिका लागि बलिउडका केही कलाकारले सहयोगको हात अगाडि बढाएका छन्। कोरोना भाइरसका कारण पीडित मानिसका लागि सित्तैमा अक्सिजन कन्स्ट्रेन्टर बाँड्ने अभियानकर्तामा अभिनेता सुनील शेट्ठीको नाम अगाडि आएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। त्यस्तै, अभिनेता सोनु सुद पनि कोरोना भाइरसको पहिलो लहरदेखि नै कोरोना प्रभावित व्यक्तिको लागि सहयोगमा जुटिरहेका छन्। अभिनेत्री शिल्पा शेट्ठीले गरिब व्यक्तिहरूलाई खाना वितरण गरिन् कोरेना सक्रमणका क्रममा मानिसहरूको मद्दत गर्न थुप्रै कलाकार अगाडि आएका छन्।अभिनेता अक्षय कुमार र अभिनेत्री ट्विकंल खन्ना दम्पतीले कोरोना संक्रमितलाई सहयोग गर्ने उद्देश्यले एक संस्थामार्फत एक सय ओटा अक्सिजन कन्सट्रेन्टर दान दिएर वास्तविक जीवनमा पनि नायक नायिकाको भूमिका निर्वाह गरेका छन्। ट्वीकंलले अन्य व्यक्तिलाई पनि यस महामारीको बेलामा आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्न अनुरोध गरेकी छिन्। अक्सिजन कन्स्ट्रेन्टर त्यस्तो उपकरण हो, जसले वातावरणीय हावाबाट अक्सिजन केन्द्रित गर्छ। केही दिनअघि अक्षयले गरिब मानिसका लागि खानाको बन्दोबस्त मिलाउन सांसद तथा पूर्वक्रिकेटर गौतम गम्भीरको संस्थालाई पनि एक करोड रुपियाँ उपलब्ध गराएका थिए।अभिनेता अजय देवगनले मुम्बईस्थित शिवाजी पार्कका कोरोना संक्रमिलाई लक्षित गर्दै २० शय्यासहितको आईसीयू कक्ष निर्माण गरेका छन्।

जसलाई मुम्बई नगर निगमले कोरोना सेन्टरमा परिणत गरेको समाचारमा जनाइएको छ। उक्त सेन्टरमा भेन्टिलेटर, अक्सिजनसहित अन्य धेरै स्वास्थ्य सुविधा उपलब्ध छन्। जसका लागि अजयले एक करोड ६० लाख रुपियाँ दिएका छन्।अभिनेत्री उर्वशी रौतेलाले पनि यो महामारीको बेला सहयोगको हात अघि बढाएकी छिन्। उनले उत्तराखण्डका मानिसलाई कोरोनाबाट लड्नका लागि २७ ओटा अक्सिजन कन्स्ट्रेन्टर उपलब्ध गराएकी छिन्। अभिनेता सलमान खानले खाना बनाएर फ्रन्टवर्करहरूलाई बाँडेका छन्। उनले आफैंले खाना खाएर खानाको क्वालिटी जा”च गरेरसमेत देखाएका थिए।केही दिनअघि दिल्लीको एक अस्पतालका डाक्टरले अस्पतालमा अक्सिजनको अभाव भएको कुरा रुँदै बताइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। उक्त भिडियो हेरेपछि भावुक भएकी अभिनेत्री सुस्मिता सेनले सोही राति नै अक्सिजन सिलिन्डरको व्यवस्था गरेर राति नै उक्त अस्पतालमा अक्सिजन सिलिन्डर पठाइन्।अभिनेता ऋतिक रोशनले भारतको कोभिड—१९ फन्डमा करिब ४३ करोड २ लाख रुपियाँ प्रदान गरेका छन्। उनले यो रकम हलिउड स्टार तथा आफ्ना साथीहरू विल स्मिथ, जेमी कर्न लीमालगायतसँग मिलेर जुटाएका थिए।

गायिका लता मंगेसकरले पनि कोरोना महामारीसँग लड्न आफ्नो तर्फबाट सहयोग गरेकी छिन्। उनले मुख्यमन्त्री राहत कोषमा आफ्नो तर्फबाट ११ लाख २० हजार रुपियाँ सहयोग गरेकी छिन्।अभिनेत्री प्रियंका चोपडा र उनका पनि निक जोन्सले आफ्ना फ्यानहरूको साथमा कोरोना प्रभावितका लागि १६ अर्ब पाँच लाख रुपियाँ संकलन गरेका छन्। उनीहरूले उक्त रकम छिट्टै बाँड्ने घोषणा गरेका छन्।बलिउडमा बिग बी अमिताभ बच्चनले पनि कोरोना संक्रमितलाई सहयोग गर्ने हेतुले दिल्लीस्थित कोभिड सेन्टरलाई दुई करोड भारतीय रुपियाँ सहयोग गरेका छन्। गत सोमबारदेखि सञ्चालनमा आएको उक्त कोभिड सेन्टरमा सहयोग गर्दैै अमिताभले भारतलाई कोभिडसँग लड्नका लागि मद्दत गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्