कांग्रेसको पार्टी कार्यालय बन्यो आइसोलेसन



राम धामी, डडेल्धुरा

कोरोना महामारीका बेला नेपाली कांग्रेस डडेल्धुराले गठन गरेको सेवा दलले नेपाली कांग्रेस डडेल्धुराको कार्यालय किसुनजी भवनमा आइसोलेसन निर्माण गरेको छ । सोमबार सेवा दलले १३ बेडको आइसोलेसन बनाएको हो ।

पाँच दिनभित्रै थप १७ बेड गरी ३५ बेडको अक्सिजन सेवासहितको सुविधा सम्पन्न आइसोलेसन निर्माण गरिने नेपाली कांग्रेस डडेल्धुराले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । ‘किसुनजी विश्राम स्थल’ नाम दिएर आइसोलेस सञ्चालनमा ल्याइएको हो । कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै डडेल्धुरा अस्पताल कोरोना संक्रमित बिरामीले भरिएपछि पार्टी कार्यालयमा आइसोलेसन बनाइएको नेपाली कांग्रेस डडेल्धुराका सभापति एंव सुदूरपश्चिम प्रदेशका सांसद कर्णबहादुर मल्लले जानकारी दिनुभयो ।

आइसोलेसनमा अक्सिजनको समेत व्यवस्थापनमा लागिरहेको सांसद मल्लले बताउनुभयो । उहाँका अनुसार हाल पाँच अक्सिजन बेड र आठ नर्मल बेडको आइसोलेसन बनाइएको छ । कोरोना संक्रमणको पहिलो लहर फैलिएका बेला सोही सेवा दलले गत वर्ष लकडाउनमा अलपत्र परेका करिब १० हजार नागरिकलाई एनडी प्रकाश भोजन चुलोमार्फत निःशुल्क खाना खुवाएको थियो ।त्यस्तै, जिल्लाका स्थानीय तहमा स्वास्थ्य सुरक्षाका सामग्री मास्क, सेनिटाइजर, ग्लोब्सजस्ता सामग्रीसमेत सेवा दलले वितरण गरिरहेको छ ।

कोरोना महामारीको पहिलो चरणदेखि नै सांसद मल्लसहित नेपाली कांग्रेस डडेल्धुराका जिल्लास्तरीय नेताहरू कोरोना संक्रमित र महामारी प्रभावित जिल्लाबासीहरूको सेवामा सक्रिय छन् । सांसद मल्लले कोरोना संक्रमित बिरामीहरूलाई भेटेर जुडिबुटीयुक्त औषधी वितरण गर्नुका साथै उच्च मनोबल राख्न सुझाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्