स्वास्थ्यकर्मीमा कोरोना, इमेरजेन्सि बाहेकका सेवा बन्द



विमल विष्ट ,डोटी  ।

डोटीको जोरायल गाउँपालिका–५ गड्सेरामा रहेको इलाका स्वास्थ्य कार्यालयका दुइ जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको छ । कर्मचारीमा कारोना सङ्क्रमण देखिएपछि उक्त स्वास्थ्य संस्थाले प्रदान गर्दै आएको इमेरजेन्सि बाहेकका अन्य सबै सेवा बन्द गरिएको अनमी बिधि भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “संस्थामा काम गर्ने दुइ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ, इमेरजेन्सि बाहेकका अन्य सेवा हामीले बन्द गरेका छौँ ।”

उक्त स्वास्थ्य कार्यालयले आज एक सूचना सार्वजनिक गरी आगामी जेठ २ गते सम्मका लागि आफुहरुले दिँदै आएका सेवामा इमेरजेन्सि बाहेकका अन्य सबै सेवा बन्द गरेको जनाएको छ । स्वास्थ्य कार्यालयले इमेरजेन्सि बाहेकका सेवा बन्द गरेपछि स्वास्थ्य संस्थामा आउने दीर्घरोगी तथा सामान्य रुघा खोकी तथा ज्वरो आएका बिरामीलाई उपचारमा समस्या भएको स्थानीयबासीहरु बताउछन् । जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जिल्लामा अहिले सम्म कम्तिमा पनि १२ जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाको जोरायलमा दुइ, केआइसिंहमा तीन, आदर्शमा चार, बडिकेदारमा एक तथा पुर्वीचौँकी गाउँपालिकामा दुइ गरी १२ जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ ।गड्सेरा बाहेक यहाँका अन्य स्वास्थ्य संस्थामा भने सबै सेवा सुचारु रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्