उपत्यकामा १५ दिन निषेधाज्ञा थप्न सिफारिस



नेपाल समाचारपत्र, काठमाडौं

कोरोना संक्रमणको जोखिम बढ्दै गएसँगै काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा जेठ १० गतेसम्म थप्न सिफारिस गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौंको सोमबार बसेको बैठकले काठमाडौंका मेयरहरूसँग छलफल गरी उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार यसलाई सीसीएमसीमा पठाएपछि निर्णय हुनेछ । यसका लागि मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्ने भएको छ ।उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । पछिल्लोपटक थप भएको अवधि २९ गते सकिँदै छ । कोभिड–१९ को दोस्रो चरणको संक्रमण बढेपछि मन्त्रिपरिषद्ले धेरै संक्रमित भएको जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा लगाउने अधिकार दिएको छ । संक्रामक रोग नियन्त्रण ऐन–२०२० अनुसार पनि प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञाको निर्णय गर्न सक्छन् ।त्यसै गरी, सो बैठकले प्रत्येक पालिकाको सिफारिसअनुसार बिरामीको संख्या र अस्पतालको आवश्यकतााअनुसार सिलिन्डर उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको छ । काठमाडौं उपत्यकामा भएका सम्पूर्ण अक्सिजन प्लान्टलाई तुरुन्त सञ्चालन ल्याउनका लागि नेपाल अक्सिजन उत्पादक संघलाई निर्देशन दिने निर्णय पनि गरिएको छ ।

कोभिड परीक्षण गराउन किटको माग गर्ने, संक्रमितलाई सहयोग गर्ने, अप्ठेरोमा परेकालाई राहत तथा उद्धारका कार्यक्रम गर्ने निर्णय पनि डीसीएमसीले निर्णय छ । द्रूत प्रतिकार्य समूह गठन गरेर तयारी अवस्थामा राख्ने निर्णय पनि भएको छ । टेस्टिङ र कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउन दायरा र क्षमता बढाउन महानगरपालिकालाई चाहिने आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन संघीय सरकारलाई अनुरोध गर्ने पनि बैठकले निर्णय गरेको छ ।कतिपय निजी अस्पतालले बढी शुल्क लिइरहेको गुनासो सम्बोधन गर्न अनुगमन प्रभावकारी बनाउने र उपत्यकामा कोभिडविरुद्धको खोप अभियान चलाउन सबै वडा कार्यालयमा निश्चित समय तोकेर जेठ २ गतेदेखि भीडभाड नहुने गरी सञ्चालन गर्ने निर्णय डीसीसीएमसीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्