विभिन्न अस्पताललाई २ सय ३० थान अक्सिजन सिलिन्डर



ललितपुर, (नेस)

कोभिड–१९ को संक्रमणबाट बिरामीको चाप बढेपछि उपचारका क्रममा अतिआवश्यक अक्सिजन सिलिन्डरको अभाव देखिएपछि जिल्लाका विभिन्न स्थानमा प्रयोगविहीन रहेका २ सय ३० थान अक्सिजन सिलिन्डरहरू महानगरीय प्रहरी परिसर ललितपुरले संकलन गरी विभिन्न अस्पताललाई बुझाएको छ ।

संकलन गरिएका अक्सिजन सिलिन्डरमध्ये डीसीसीएमसीको बैठकबाट निर्णय भएअनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ८० थान, किस्ट मेडिकल कलेज इमाडोललाई ५०, ब्रजवाराही अस्पताल चापागाउँलाई १०, अल्का अस्पताल जावलाखेललाई १५, सुमेरु अस्पताल धपाखेललाई १०, स्टार अस्पताललाई २०, मेघा अस्पताललाई २०, गणेशमान सिंह अस्पताललाई १० र ललितपुर महानगरपालिकाबाट सञ्चालित बागडोलस्थित वृद्धाश्रममा रहेको आइसोलेसन सेन्टरलाई १५ थान अक्सिजन सिलिन्डर बिरामीको प्रयोजनका लागि बुझाइएको परिसरले जनाएको छ ।

साथै अक्सिजन उत्पादन कार्यमा संलग्न रहेका उद्योगीहरूको रोटेसनमा नरहेका अक्सिजन सिलिन्डरको विवरणसमेत माग गरी स्टक एवं थन्किएर रहेका सिलिन्डरको खोजी कार्यमा प्रहरीले तीव्रता ल्याउनुका साथै आम नागरिकमा यससम्बन्धी जानकारी भएमा नजिकको अस्पताल वा महानगरीय प्रहरी परिसर ललितपुरमा समन्वय गरी उपलब्ध गराइदिन महानगरीय प्रहरी परिसर ललितपुरले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्