काभ्रेमा थप एक साता निषेधाज्ञा



काभ्रे, (नेस)

कोभिड–१९ का बिरामी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आइतबारदेखि थप एक साता निषेधाज्ञा जारी गर्ने भएको छ । एक साताअघि आंशिक निषेधाज्ञा लगाएको काभ्रेले आइतबार राति १२ बजेदेखि पुनः निषेधाज्ञाको अवधी बढाउने तयारी गरेको हो ।
‘सीमित क्षेत्र र स्थानको निषेधाज्ञालाई फराकिलो बनाउँदै संक्रमण नियन्त्रणको प्रयास भएरहेको छ’, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भन्नुभयो– ‘संक्रमित बिरामी बढ्दै गएको र काठमाडाै उपत्यकामा समेत निषेधाज्ञा जारी रहेकाले एक साताका लागि निषेधाज्ञाको अवधि बढाउने तयारीमा छौं ।’

बैशाख २६ गते आइतबार राति १२ बजेबाट सकिने निषेधाज्ञाको दोस्रो अवधि जेठ २ गते राति १२ बजेसम्म कायम हुनेछ । वैशाख २८ गते आमाको मुख हेर्ने दिन आमाको मुख हेर्न जाने–आउनेको घुइँचो हुने भएकाले प्रशासनले कडाइका साथ निषेधाज्ञा कार्यान्वयन गराउन स्थानीय चौकी तथा मातहतका निकायहरुलाई निर्देशनसमेत दिइसकेको छ ।

वित्तीय संस्थामा कडाइ

दोस्रो चरणको निषेधाज्ञामा वित्तीय क्षेत्रलाई समेत कडाइ गरिने भएको छ । यसअघि वित्तीय क्षेत्रका सहकारी, बैंक र बिमा कम्पनीहरु निर्बाध सञ्चालन भइरहेका थिए । आइतबारबाट लागू हुने गरी वित्तीय क्षेत्रअन्तर्गत बैंकहरु आलोपालो गरी सञ्चालन हुनेछन् । त्यस्तै, सहकारीहरु साताको दुई दिनमात्र सञ्चालन हुनेछन् । सडकमा भीडभाड बढेसँगै प्रशासनले वित्तीय क्षेत्रको व्यवस्थापन गर्न लागेको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्