प्रधानमन्त्रीलाई आफ्नै चुनौती: हिरो बन्ने कि जिरो !



विदुर गिरी, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले गत सोमबार देशवासीको नाममा सम्बोधन गर्दै आवश्यक मात्रामा कोभिड अस्पताल निर्माण र शैय्या वृद्धि गर्ने, सबै नेपालीलाई कोरोनाविरुद्धको खोप दिलाउने घोषणा गरेर आम नेपालीमा आशाको सञ्चार जगाउने प्रयास गर्नुभएको छ ।आफैंले दिएको आश्वासन उहाँका लागि चुनौती बनेको छ । आश्वासन पूरा गरे उहाँ हिरो हुनुहुनेछ भने नगरे जिरो १ कोरोना संक्रमणबाट हुने कोभिड–१९ का कारण हिजोआज दैनिक संक्रमितको संख्या वृद्धि भइरहेको छ भने मृत्यु दर पनि बढेको छ ।

कोरोनाले स्वास्थ्यमा पु-याउने हानिबाट बचाउन शैय्या अक्सिजन र जीवनरक्षक मानिएको रेमडेसिभिरलगायतको औषधि अभावका कारण अस्पताल भर्ना भएका बिरामीको मृत्यु भएमात्र अर्को संक्रमितले शैय्या र औषधि उपचार पाउने विकराल अवस्था सिर्जना भइसकेको छ । बंगलादेशबाट प्राणरक्षक रेमडेसिभिर काठमाडौं आए पनि पर्याप्त हुन सकेन । ६८ स्थानमा पु-याउनुपर्ने सूची तयार पारेर राखेको रेमडेसिभिर बिरामीका मान्छेको भीडले इन्ट्रीसमेत गर्न भ्याईनभ्याई भएको हाम्रो मेडिकन्सर्न प्रालिका देवेन्द्रबहादुर श्रेष्ठले नेपाल समाचारपत्रलाई बताउनुभयो । अर्कोतिर लक्षण देखिएका र लक्षण नदेखिए पनि त्रासका कारण पीसीआर परीक्षण गराउन पुगेको भीडबाटै कोरोना सर्ने जोखिम पनि बढेको छ ।यो अवस्थामा प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा भनेजस्तै प्रदेश तथा केन्द्रमा अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर निर्माण गर्नका लागि निर्देशन दिएर काफी हुने छैन । शैय्या धेरै भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालका रूपमा सञ्चालनमा ल्याउन पनि निर्देशनले मात्र पनि काफी हुने छैन । यसका लागि तपाईं आफैं संयोजक रहने र तपाईं स्वयंले निगरानी गर्ने गरी आफ्नो घोषणा जसरी तदारुकताका साथ काम अगाडि बढेको छ-छैन, त्यसको अनुगमन गर्नु जरुरी छ । यसका लागि अहिले लोकप्रियता कमाएका भाइबर, फेसबुक मेसेन्जरजस्ता एप्स तथा सामाजिक सञ्जालको प्रयोगले नेपाली जनतालाई कोरोनाबाट जोगाउने अभियानले मूर्त रूप लिन सम्भव छ ।

प्रधानमन्त्रीलाई जानकारी होला-नहोला, नेपाल विद्युत् प्राधिकरणले आप्mना सम्बन्धित मुख्य जिम्मेवार कर्मचारीहरुका साथमा बाहिरका विज्ञहरुलाई समेत भाइबर सञ्जालमा जोडेर विद्युत् आपूर्तिदेखि, विद्युतीय सामग्री अभावजस्ता समस्यालाई समाधान गर्दै आएको छ । त्यसका लागि सम्बन्धित कर्मचारी प्राविधिकलाई छुट्टै सिम कार्डसमेत उपलब्ध गराएको छ । जुन, सम्बन्धित कर्मचारी र प्राविधिकले बिदामा बसेका बेलामा समेत २४सै घन्टा रिसिभ गर्नुपर्ने नियममा बाँधेको छ । कोभिडसँग लड्नका लागि पनि यहाँले सम्बन्धित अस्पतालका प्रमुख, तीनका प्रमुख चिकित्सक, प्रशासन प्रमुख, अक्सिजन र औषधिजस्ता स्वास्थ्य सामग्री आयातकर्ता, विमानस्थल प्रमुख, सीमानाकाका सुरक्षा प्रमुखलगायतलाई भाइबर ग्रुपमा बाँधी कुन अस्पतालमा कुन–कुन अवस्थाका कति–कति कोरोना संक्रमितको उपचार भइरहेको छ जस्ता विषयमा जानकारी लेन–देन गर्न र निर्देशन दिन सक्नुहुन्छ ।त्यसै गरी, कुन–कुन अस्पतालमा कति–कति शैय्या खाली छन्, कति भरिएका छन्, कतिलाई आईसीयूमा राखिएको छ, कति जना भेन्टिलटरमा छन् र बाहिर रहेका संक्रमितको व्यवस्थापनका लागि के भइरहेको छ, हवाई र स्थलमार्गमा के भइरहेको छ भन्ने विषयमा आफू रहेकै स्थलबाट जानकारी लिन र निर्देशन दिन सक्नुहुन्छ ।

अहिले उपत्यकामै अक्सिजनको अभाव भएको छ । रेमडेसिभिर औषधिको चरम अभाव सिर्जना भएको छ । रेमडेसिभिर र अक्सिजनका सिलिन्डर कहीं स्टकमा बसेका छन् भने कहीं नपाइएर बिरामीको ज्यान नै जाने अवस्था सिर्जना भएको छ । निजी अस्पतालहरुले कोभिड वार्डका नाममा सरकारले तोतेको शुल्कलाई लत्याउँदै चर्को शुल्क असुलिरहेका छन् । यी सबै कुराको सहजीकरण र अनुगमनका लागि पनि यो उपाय भरपर्दो हुन सक्छ । स्वास्थ्यमन्त्री, स्वास्थ्य सचिव, उपसचिवका साथमा कर्मचारीहरुलाई समेत भाइबरमा जोडी मुख्य काम उहाँहरुले गर्ने र आफूले अनुगमन, निगरानी एवं निर्देशकीय भूमिका निर्वाह गरेर सरलरूपमा व्यवस्थापन गर्न यो छोटो तर लाभदायक उपाय हुन सक्छ । नयाँ अस्थायी कोभिड अस्पताल निर्माण गर्न, भएकै अस्पतालको शैय्या वृद्धि गर्नमात्र नभई सरकारका अन्य काम–कारबाहीका लागि समेत यो उपाय सधैंका लागि प्रभावकारी हुन सक्छ ।यो उपाय कति प्रभावकारी छ भने, नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालयका प्रमुख टेकनाथ तिवारीबाटै सुनौं– ‘कमन पोर्टल बनाउँदा समस्या समाधान गर्न सजिलो हुने रहेछ । शुरूमा हामीले एउटा ठाउँमा सामान स्टक हुने, अर्को ठाउँमा अभाव हुने भएकाले जानकारी आदान–प्रदान गर्नका लागि यसलाई प्लेटफर्म बनायौं । अहिले देशभरिकै साथीहरुसँग हावाहुरी, वर्षा वा अन्य कुराले कहाँ समस्या भएको छ र कसरी समाधान गर्ने, समाधान भयो या भएन भन्ने थाहा पाउन कसैलाई सोध्नुपरेको छैन । सबै यही ग्रुपबाटै शेयर भइरहेको छ ।

कतिपय अवस्थामा आदेश वा निर्देशनबिना काम अगाडि बढाउन सकिँदैन, त्यस्तो अवस्थामा समेत त्यसैलाई प्रिन्ट गरेर काम टुंग्याउन सरल भएको छ ।’ नेपाल एपीएफ अस्पतालका निर्देशक डा। रूपक महर्जनले पनि उपचार टोलीलाई भाइबर ग्रुपमा जोडेर एक अर्कासँग नभेटी सहज ढंगल कार्य अगाडि बढाइरहेको बताउनुभएको छ । ‘केही डिस्कसन गर्न परे हामी भाइबर गु्रपमै गर्छौं । यसले हामीलाई सहज बनाएको छ ।’ –डा। महर्जन भन्नुहुन्छ ।प्रधानमन्त्री ओलीले सबै सरकारी तथा निजी अस्पतालले आफूकहाँ उपलब्ध शैय्या र तीमध्ये प्रयोग भएका वा नभएका शैय्याको दैनिक विवरण अद्यावधिक गरेर तत्काल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउनुपर्ने र कुनै अस्पतालले शैय्या लुकाएको भेटिए कारबाही गरिने चेतावनी जसरी दिइरहनुपरेको छ, भाइबरजस्ता ग्रुपबाट आदेश र निर्देशन दिएको खण्डमा, कागजपत्र लाने ल्याउने, दर्ता गर्नेजस्ता लामो औपचारिकता र प्रक्रिया छोटिने छ भने सबै विषय पारदर्शी हुनेछ ।

प्रधानमन्त्री ओलीले जसरी सम्बोधनमा भारतसँग सिमाना जोडिएका नाकामा परीक्षण गराइने, सबै तहमा कन्ट्याक्ट ट्रेसिङ बढाउन लगाइएको, नेपाल बाहिरबाट आउने व्यक्तिको अभिलेख राखी क्वारेन्टिन, आइसोलेसन तथा उपचारको व्यवस्था गर्ने र घर तथा संस्थागत आइसोलेसनको नियमित अनुगमन गर्ने प्रबन्ध गरिएको, संघ, प्रदेश र स्थानीय तहबीच समन्वयात्मकरूपमा काम भइरहेको आश्वासन दिइरहनुपरेको छ, त्यसको सहज समन्वयका लागि पनि यो सञ्जाल सहायक र सरल सिद्ध हुनेछ ।ओली यस महामारीबाट जनतालाई मुक्ति दिलाउन सके बहुमतको सरकारको प्रधानमन्त्री वा मध्यावधि गराउने सरकारको प्रधानमन्त्री होइन, आगामी आम वा मध्यावधि निर्वाचनबाट सर्वाधिक मत ल्याएर चुनाव मात्र नभई जनताको मन जित्ने हिरो राजनेता पनि हुनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्