कारोना नियन्त्रण पहिलो प्राथमिकतामा राख्न स्थानीय तहलाई आग्रह



सुनील महर्जन, काठमाडौं

सरकारले कारोना रोकथाम तथा नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न देशभरका स्थानीय तहलाई आग्रह गरेको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ स्थानीय तहलाई पत्र पठाएर सो आग्रह गरेको हो । मन्त्रिपरिषद्को निर्णय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको पत्रलाई आधार मानेर मन्त्रालयले सो आग्रह गरेको मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखाका अधिकृत नारायणप्रसाद भट्टराईले बताउनुभयो । विश्वभर फैलिइरहेको नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण नेपालमा समेत बढ्दै गइरहेकाले रोकथाम तथा नियन्त्रणका लागि सो आग्रह गरिएको अधिकृत भट्टराईले बताउनुभयो ।

स्थानीय तहले कोरोना संक्रमण र रोकथामका लागि जनचेतना जगाउने, आवश्यकताअनुसार स्वयंसेवक परिचालन तथा निःसंक्रमणको व्यवस्था मिलाउने र जनस्वास्थ्यसँग सम्बन्धित विषयमा पालना गर्नुपर्ने नियमहरुबारे माइकिङ गर्न स्थानीय तहलाई आग्रह गरिएको छ ।त्यसै गरी, स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतले अत्यावश्यक सेवा प्रवाह गर्न व्यवस्था मिलाउनुपर्ने, आपूर्ति व्यवस्थालाई नियमित गर्न तथा कृत्रिम अभाव हुन नदिन सम्बद्ध निकायको सहयोगमा अनुगमन र समन्वय गर्न पनि मन्त्रालयले स्थानीय तहलाई भनेको छ ।त्यस्तै, कोरोना रोकथाम र नियन्त्रणका लागि प्रदेश र प्रशासनसँग समन्वय गर्ने, स्रोतसाधन परिचालनमा मितव्ययीता अपनाउने, अन्तरस्थानीय तह समन्वय र सहजीकरण गर्ने, मन्त्रालयमार्फत गर्नुपर्ने विषयमा लेखी पठाउने र सरकार र अन्य सम्बद्ध निकायबाट जारी आदेश पालना गर्न लगाउन पनि स्थानीय तहलाई आग्रह गरिएको छ ।

उपत्यकामा कोरोना संक्रमण संख्या दिन प्रतिदिन बढिरहेको अवस्थामा अधिकांश स्थानीय तहले प्रभावकारी काम गर्न नसकेको गुनासो पनि बढिरहेको छ । संक्रमितका लागि राख्नका लागि पर्याप्त आइसोलेसनको अभाव एकातिर छ भने अर्कोतिर संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ पनि हुन नसकेको गुनासो छ ।जिल्ला प्रशासन कार्यालय ललितपुरमा हालै बसेको बैठकले ललितपुर महानगरपालिकालाई कम्तीमा सय शैय्याको आइसोलेसन व्यवस्था मिलाउन भने पनि महानगरपालिकाले विभिन्न संघ–संस्थासँग सहकार्य गरेर हाललाई ५० शैय्याको आइसोलेसन बनाएको छ ।त्यसै गरी, महानगरपालिकाले नेपाली सेना, प्रहरीसँग समन्वय गरेर कोभिड वार्ड तथा आइसोलेसन सञ्चालन गर्ने तयारी गरिरहेको मेयर विद्यासुन्दर शाक्यले बताउनुभयो । स–साना एकाइमा क्वारेन्टिन, आइसोलेसनजस्ता संरचना बनाउँदा जनशक्ति र स्रोत व्यवस्थापन गर्न कठिन हुने भएकाले महानगरले संस्थागत सहकार्यमा संयन्त्र बनाउने मेयर शाक्यको भनाइ छ ।

‘स–साना धेरै आइसोलेसन बनाइयो भने ती ठाउँमा अक्सिजनलगायत सामग्री र जनशक्ति पु¥याउन कठिन हुन्छ । यस्ता ठाउँमा बिरामीलाई सन्तोषजनक सेवा दिन पनि सकिँदैन । त्यहाँ कुनै कारण जोखिम उत्पन्न भयो भने जिम्मेवारी लिने कोही हुँदैन ।’ मेयर शाक्यले भन्नुभयो– ‘त्यसैले हामी नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी र ठूला अस्पतालहरुसँग सहकार्य गरेर उहाँहरुसँग भएको क्षमता बढाउन चाहन्छौं । यसरी तयार पारिएको ठाउँमा गरिने कोरोनाको उपचार संयन्त्र दिगो, भरपर्दो र प्रभावकारी हुन्छ ।’ त्रिवि अस्पतालमा कोरोना वार्ड बनाउन पनि महानगरपालिकाले गृहकार्य थालेको छ ।

प्रतिक्रिया दिनुहोस्