अस्पतालमा अक्सिजन र शैय्या नभएको भन्दै चार अस्पतालले हात उठायो (विज्ञप्तिसहित)

...तर मानिस बाहिर निस्कन छोडेको होइन



नेपाल समाचारपत्र, काठमाडौं

सरकारले अस्पतालमा शैय्या र अक्सिजनको अभाव नरहेको दाबी गरेका कारण मानिस असुरक्षित अवस्थामा बाहिर निस्किरहेको एक संक्षिप्त सर्वेक्षणले देखाएको छ । ‘असजिलो पर्दा सेवा लिने अस्पताल भएपछि किन डराउने’ भन्ने मानसिकता नागरिकमा देखिएको छ ।‘विवाह जीवनमा एकचोटि गर्ने हो, केही आफन्तलाई त सहभागी गराउनै प-यो’ बनेपामा शनिबार विवाह भोजका सरिक दुलहाका दाजु राजन तिमल्सिनाले भन्नुभयो– ‘सुरक्षाका लागि मास्क त लगाएकै छौं, तर खानेबेला खोल्नै प-यो ।’

कीर्तिपुरको वाग्वानीअगाडि मोटरसाइकल रोकेर सरसल्लाह गरिरहेका जस्ता देखिन्थे, सात जना युवाको झुण्डका सदस्यहरू । ‘बल्खुतिर लागौं, कीर्तिपुर गेटमा प्रहरी छ, समातिहाल्छ, घरमा बसेर बोर भइयो ।’ –मास्क चिउँडोमा लगाएका प्रितम थापा नाम बताउने युवकले भने ।नेपाल समाचारपत्रले पाँच संवाददातालाई कोरोना संक्रमण र लकडाउनप्रति नागरिकको धारणा र सचेतना के छ भनेर उनीहरूको निकटका क्षेत्रमा परिचालन गर्दा चावहिलका भ्यान चालकको भनाइ निकै अनौठो भेटियो । कृष्ण परियार नाम बताउने उहाँको भनाइ थियो– ‘कोरोनाको त्रास फैलाउने सबै प्रधानमन्त्री केपी ओलीका विरोधी हुन्, सरकारका मन्त्रीले कोरोना लाग्यो भने अस्पतालमा अक्सिजन जडान गरिएका शैय्या खाली छन् भनिरहेका छन्, हामी बिनाकाम किन डराउने !’

तर, प्रधानमन्त्री ओलीले पनि अवस्था जटिल बनेको संकेत गर्नुभएको छ । उहाँले शनिबार सीएनएन टेलिभिजनलाई अन्तर्वार्ता दिँदै आजसम्मको अवस्था नियन्त्रणमा रहेको, कोभिडका बिरामीले उपचार पाइरहेको भए पनि योभन्दा बढी चाप बढेमा आफ्नो स्रोत–साधनले धान्न नसक्ने बताउनुभएको छ ।यद्यपि प्रधानमन्त्री ओलीका मन्त्रीहरू उहाँभन्दा अलि बढी ढुक्क देखिएकै हुन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आफ्नो प्रदेशमा शैय्या र अक्सिजनको अभाव नरहेको स्टाटस लेख्नुहुन्छ, तर प्रदेशको गौरवको आयोजनाका रूपमा अघि बढाइएको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमितले शैय्या नपाएको समाचार आइरहेको छ ।अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतम अक्सिजन र शैय्याको अभाव रहेको बताउनुहुन्छ । गौतमले शुक्रबार झन्डै ५० जना बिरामी अस्पतालमा आए पनि भर्ना गर्न नसकिएको बताउनुभयो ।

बुटवलमा मात्रै होइन, अक्सिजन र शैय्याको समस्या लुम्बिनीका अन्य अस्पतालमा पनि रहेको छ । लुम्बिनी प्रदेश मात्र पनि होइन, सबै प्रदेशमा अहिले यही स्थिति छ । नेपालगन्ज, वीरगन्ज, दाङलगायतका शहरबाट नेपाल समाचारपत्रलाई प्राप्त समाचारमा कोरोनाका बिरामीका लागि शैय्या नै पाउन नसकिएको, कतै पाइहाले पनि अक्सिजनको अभाव रहेको अस्पताल प्रशासनले जनाएको छ ।मुलुकको राजधानीकै अस्पतालहरूमा शैय्या र अक्सिजनको अभावमा रहेका बेला प्रदेशमा समस्या देखिनु सामान्य विषय बनेको छ । ललितपुरको सानेपास्थित स्टार हस्पिटलका मेडिकल डाइरेक्टर शैल रुपाखेती भन्नुहुन्छ–‘कोरोना बिरामीका लागि हामी शैय्या बढाउन तयार छौं, तर हामीलाई जसले अक्सिजन ग्यास उपलव्ध गराइरहेको छ, उसले दैनिक ६० सिलिन्डरबाट बढाएर २ सय ५० सिलिन्डर हामीलाई दिनसक्छ भन्नेमा हामी आश्वस्त हुन सकिरहेका छैनौं ।’अहिले कोरोनाका लागि ५० शैय्यामा उपचार भइरहेको बताउँदै डा. रुपाखेतीले अन्य रोगका बिरामी डिस्चार्ज हुनासाथ सोही शैय्यालाई कोरोनाका लागि रूपान्तरित गरिएको जानकारी पनि दिनुभयो । ‘अक्सिजन प्लान्ट बीचमा बिग्रिएको खण्डमा तत्काल आकस्मिक आपूर्तिका लागि सरकारी पक्षबाट कुनै प्रतिबद्धता आयो भने हामी ढुक्क भएर बेडको विस्तार गर्नसक्छौं’, डा. रुपाखेतीको सुझाव छ– ‘पहिला चलेर बिग्रेका धेरै अक्सिजन प्लान्ट छन्, मर्मत गरेर चलाउने व्यवस्था मिलाइयोस्, आत्मनिर्भर भएर अघि बढौं, भारतको भरमा पर्ने गरी लिक्युड अक्सिजनतिर नलागौं ।’

आफ्नै अक्सिजन प्लान्ट नभएको स्टार अस्पतालको जस्तै व्यथा यस्तो प्लान्ट भएका अस्पतालमा पनि छ । थापाथलीस्थित नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंह भन्नुहुन्छ– ‘हामीकहाँ भएको अक्सिजन प्लान्टले त्यति मात्र आपूर्ति गर्छ जति हाम्रो नियमित आवश्यकता छ, अहिले अस्पतालका सबैजसो बेड कोभिडका बिरामीका लागि लगाउनुपर्ने अवस्था छ, त्यसका लागि हाम्रो उत्पादन पर्याप्त छैन ।’१ सय १४ बेडमा अहिले कोभिडका बिरामी रहेको तर यो परिमाण एक सय ४० सम्म पु¥याउन सक्ने क्षमता आफूकहाँ रहेको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘तर, अक्सिजनको भरपर्दो व्यवस्थाबिना यसो गर्नु चुनौतीपूर्ण हुन्छ, बीचमै आपूर्ति रोकियो भने हामीले बिरामीलाई कसरी बचाउने?’अहिले बजारमा अक्सिजन सिलिन्डरको अभाव देखिनुका पछाडि कोभिडका बिरामी बढ्नु मात्र कारण देखिन्न । अक्सिजन ग्यासको प्लान्ट पूर्णतः निजी क्षेत्रले चलाइरहेको छ, सरकारले चलाएको छैन । निजी क्षेत्र नाफामुखी छ । मुनाफाका लागि उसले अवसरको दुरुपयोग पनि गरेको छ । प्रतिघण्टा प्रतिबिरामी दुई-तीन लिटर खपत हुने अक्सिजनको माग एक्कासि बढेको छ । सबैजसो अस्पतालमा पूर्ण क्षमताका साथ बिरामीको उपचार भएको र अक्सिजन खपत सोहीअनुसार भएको छ ।

जबकि घर–घरमा आपत्कालका लागि भनेर अक्सिजन सिलिन्डर लुकाउने काम पनि भएको छ । कोराना बिरामीका लागि दुई-तीन घण्टाका लागि अक्सिजनको व्यवस्थापनले कुनै अर्थ नदिने डाक्टरको सुझावलाई व्यक्तिहरूले सुनिरहेका छैनन् । मेडिकेयर अस्पताल लिमिटेड, नेपाल–भारतमैत्री अस्पताल, दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टर तथा हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालले शनिबार एक विज्ञप्ति जारी कोभिडका बिरामीलाई उपचार गर्न नसक्ने जनाएका छन् । अक्सिजन ग्यासको नियमित आपूर्ति तथा अक्सिजनको वैकल्पिक व्यवस्था गर्न असहज भएका कारण कोरोना संक्रमणका बिरामीलाई भर्ना गरी उपचारमा निरन्तरता दिन नसकिने परिस्थिति सिर्जना भएको विज्ञप्तििमा जनाइएको छ ।अस्पतालहरूले शनिबारदेखि अक्सिजनको नियमति आपूर्ति नभएसम्म सीमित शय्यामात्र सञ्चालन ल्याएर सेवा प्रदान गरिने जानकारी दिएका हुन् ।यसअघि अल्का अस्पतालले पनि अक्सिजन ग्यासको अभाव भएको भन्दै विज्ञप्ति जारी गरेको थियो ।

खोप मात्र एक्लो विकल्प

कोरोना भाइरसविरुद्ध उभिने एक्लो भरपर्दो विकल्प खोप मात्र रहेको विश्वले स्वीकार गरेको छ । नेपाल सरकारले पनि कोभ्याक्स सुविधाअन्तर्गत पाउने कोभिड–१९ विरुद्वको खोप यथाशक्य छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्रसंघलाई अनुरोध गरेको शुक्रबारै जानकारी गराएको छ ।

खोपका अतिरिक्त भेन्टिलेटर, पीपीई., अक्सिजन सिलिन्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि र खोपसँग सम्बन्धित सामग्री, अस्थायी अस्पताल स्थापनाका लागि पूर्वाधार र विज्ञ जनशक्तिसमेतका लागि सरकारले राष्ट्रसंघलाई गुहारेको छ ।गृह मन्त्रालयका अनुसार कोभिड–१९ दोस्रो लहरको संक्रमणलाई प्रभावकारी रोकथाम, उपचार तथा नियन्त्रणका लागि ४ सय ९३ अस्पताल, २० हजार ३ सय ६१ शैय्या, १ हजार ८ सय १७ आईसीयू (जसमा १ हजार १ सय ५ प्रयोगमा रहेका), ७ सय ३६ भेन्टिलेटर (जसमा २ सय ९३ प्रयोगमा रहेका), २६ निजी क्षेत्रबाट सञ्चालित प्लान्ट र २ हजार ८ सय ६५ एचडीयू रहेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार छिमेकी मित्रराष्ट्र चीनबाट सहयोगस्वरूप प्राप्त हुने स्वास्थ्य सामग्रीहरू भेन्टिलेटर–४०, अटोमेटेड एनालाइजर–२०, डीआर मेसिन–१०, पोर्टेवल अल्ट्रासाउन्ड–२०, एनेस्थेसिया मेसिन–३० एक हप्ताभित्र तातोपानी नाकामा आइपुग्ने छ ।स्वास्थ्य मन्त्रालयको सूचीबमोजिमका सहायता सामग्री बेलायत, जर्मनी, फ्रान्स, क्यानडालगायतका मुलुकहरूबाट सहयोगस्वरूप प्राप्त गर्न पत्राचार भएको छ । एक डोज मात्र लगाउँदा पुग्ने र करिब ९० प्रतिशत प्रभावकारिता रहेको स्पुतनिक लाइट भ्याक्सिनको विस्तृत जानकारी मस्कोस्थित नेपाली राजदूतावासमार्फत रसियाको सम्बन्धित निकायसँग माग गरिएको बताइएको छ ।हाल चलिरहेको कोभिडको दोस्रो लहरमा यसविरुद्धको खोप लगाएका व्यक्तिहरू प्रभावित नभएको वा नगण्यरूपमा प्रभावित भएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्