कोरोना संक्रमणबाट एकैदिन दुई वडाध्यक्ष र मेयरको निधन



न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना संक्रमणबाट एकैदिन दुई वडा अध्यक्ष र एक मेयरको निधनन भएको छ । नयाँ भेरियन्टको कोरोना भाइरसको सङ्क्रमणबाट बाजुरामा ३५ वर्षीय एक वडाध्यक्षको मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका नगरपालिका–९ का वडाध्यक्ष विनोदकुमार विक छन् । सङ्क्रमणपछि जिल्ला अस्पतालको आइसोलेशनमा उपचाररत विकलाई थप उपचारका लागि डडेल्धुरा पठाइएकामा जाँदै गर्दा अछामको साँफे बगरमा मृत्यु भएको आफन्त राजेश विकले बताए ।

यस्तै नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड –१९) का कारण शङ्खरापुर नगरपालिका वडा नं. –४ का अध्यक्ष बुद्धिबहादुर तामाङको निधन भएको छ । उनलाई कोभिड भएपछि उपचारका लागि गोकर्णेश्वर नगरपालिका वडा नं. –८ स्थित नेपाल मेडिकल कलेज अत्तरखेलमा राखिएको थियो । वडाध्यक्ष तामाङको उपचारका क्रममा आज दिउँसो निधन भएको नगरपालिकाका प्रवक्ता हितमान तामाङले जानकारी दिए । उनको यही वैशाख २१ गते साँखुस्थित पिपुल्स लाइफ केयर अस्पतालले स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकामा पोजेटिभ रिपोर्ट आएको थियो ।

एक रात नगर अस्पताल इन्द्रायणीमै राखी उपचार गरिएको थियो । यस्तै थप कोरोना महामारीका कारण डोल्पा जिल्लामा दुई दिनको फरकमा दुई जना नेताको ज्यान गएको छ । पूर्व मन्त्री मोति प्रसाद पहाडीको निधन भएको दुई दिन नबित्दै डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका मेयर ओमवहादुर बुढाको कोरोना संक्रमणका कारण निधन भएको छ । जिल्लाका विकासप्रेमी र इमानदार राजनीतिज्ञका रुपमा परिचित बुढालाई कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंको सुमेरु अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्