संसद् बैठक बोलाएर धमाधम अध्यादेश



काठमाडौं, (नेस) 

प्रतिनिधिसभाको बैठक यही वैशाख २७ गतेका लागि आह्वान गरिएको छ । तर, संसद् बैठक बोलाएर सरकारले धमाधम अध्यादेश ल्याएको छ । संसद् बैठक अन्त्य भएको अवस्थामा मात्र अत्यावश्यक विषयमा सरकारले अध्यादेश ल्याउने प्रावधान भए पनि सरकारले यसपटक संसद् बैठक आह्वान गरेर अध्यादेश ल्याएको हो ।

यसअघि प्रतिनिधिसभा विघटन गरेपछि सरकारले विभिन्न अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश सरकारको बेवास्ताका कारण संसद् बैठकमा प्रवेश नै नपाई हिउँदे अधिवेशन अन्त्य भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिनका लागि भन्दै संसद् बैठक आह्वान भइसकेको छ । तर, पाँच दिनपछि बैठक सुचारु हुने अवस्था रहँदारहँदै सरकारले आफूअनुकूल काम गर्न सहज हुने गरी ल्याएको अध्यादेश भने पुनः राष्ट्रपतिसमक्ष सिफारिस गर्दै अध्यादेश जारी गर्ने काम भएको छ ।

मंगलबार मात्र सरकारको सिफारिसमा सातवटा विधेयक जारी गर्नुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः बुधबार रेल्वे अध्यादेश–७८, विधेयक जारी गर्नुभएको छ । नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मंगलबार राष्ट्रपतिले संवैधानिक परिषद्सम्बन्धी लगायतका विभिन्न ७ वटा अध्यादेश जारी गर्नुभएको थियो ।संसद्को गत अधिवेशनमा पेस भएका ती अध्यादेश कार्यसूचीमा परे पनि छलफल हुन नसकेपछि सरकारले पुनः अध्यादेश ल्याएको हो । अध्यादेश जारी भएको मितिले ६ महिनाभित्र संसद्बाट पारित हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्