पहुँचवालालाई चाँडै, सर्वसाधारणलाई गाह्रै



सुनील महर्जन, काठमाडौं

निषेधाज्ञामा तीनवटा कामका लागि मात्र प्रशासनले सर्वसाधारणलाई पास वितरण गरेको छ । वैशाख १६ गते बिहीबारदेखि लागू निषेधाज्ञा बुधबार मध्यरातिदेखि वैशाख २९ गतेसम्म थप्ने उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले गरिसकेको छ ।निषेधाज्ञाको बेला उपत्यकाबाट बाहिर जान वा उपत्यकामा आउन, बिहे, व्रतबन्ध जस्ता संस्कार पार्टी प्यालेसमा गर्न र मृत्यु संस्कारका लागि मात्र पास वितरण गर्दै आएको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रशासकीय अधिकृत दीपकप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

प्रशासकीय अधिकृत अधिकारीका अनुसार दैनिकमा औसत २० देखि २५ सम्म पास वितरण गर्दै आएको छ । बिहेको साइत नभएको दिनमा उपत्यका बाहिर आफ्नो घर जान पास लिन आउनेहरुको संख्या अलि बढी रहेको छ ।

सहज छैन पास बनाउन

कोरोनाको जोखिम बढिरहेकाले तीनवटै जिल्लामा प्रशासन कार्यालय छिर्ने मुख्य गेट अहिले बन्द गरिएको छ । यसअघि गेट खुला गरिएकोमा ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला कोरोना संक्रमित भएपछि मंगलबारदेखि कार्यालयको मुख्य गेटबाट छिर्न सर्वसाधारणलाई रोक लगाइएको थियो । यसले गर्दा पासका लागि निवेदन सम्बन्धित शाखामा पु¥याउन र पास लिन सर्वसाधारणलाई असजिलो हुने गरेको छ ।‘गेटमा उभिएका प्रहरीमार्फत कार्यालयभित्र रहेका सम्बन्धित कर्मचारी बोलाउनुपर्ने छ । ती कर्मचारी गेटमा आएपछि बल्ल निवेदन हातमा थमाइदिन्छौं । त्यसको करिब–करिब आधा घण्टापछि पास सम्बन्धित व्यक्तिको हातमा पर्ने गरेको छ ।’ –ललितपुर कुछेननी निवासी मित्र महर्जनले भन्नुभयो ।पास बनाउन जाँदा प्रहरी र कर्मचारीले गर्ने व्यवहार सम्झिने हो भने नेपाली नागरिक हुनुमा गौरवभन्दा हीन भाव महसुस हुने गरेको बानेश्वर बस्ने प्रमोद दाहालले सुनाउनुभयो । छोरीको बिहे पार्टी प्यालेसमा गर्नका लागि दाहाल बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पास बनाउन आउनुभएको थियो । ‘पुलिसले गेटमै रोक्यो । निवेदन दिएर पठायौं ।

पास बनाउने काममा सहजीकरणका लागि कोसँग कुरा गर्ने त्यस्तो व्यवस्था केही छैन ।’ –उहाँले भन्नुभयो ।कर्मचारीको नातागोता, गृह मन्त्रालयको हवाला दिएर आउनेहरुको पास बनाउने काम चाँडै हुने गरेको पनि गेटबाहिर बसिरहेका सर्वसाधारण बताउँछन् । ‘अरू कार्यालयको अनुगमन गर्ने जिम्मा पाएको प्रशासनले नै सेवाग्राहीप्रति मैत्रीपूर्ण बोली र व्यवहार गर्दैन भने अरू कार्यालयलाई के भन्ने रु’ –काठमाडौं खुसिबुँ निवासी शोभा श्रेष्ठले भन्नुभयो ।गत वर्ष चैत ११ गते मंगलबारदेखि भएको लकडाउनका बेला पास बनाउन सर्वसाधारणले अनेक झन्झट र दुःख पाएको गुनासो आएकाले पास वितरणमा पहिलेको भन्दा अहिले बढी सहजता र संवेदनशीलता अपनाइएको प्रशासनको दाबी रहेको छ ।‘पहिलेको जस्तो पास लिन आउनेहरुको भीड अहिले छैन । धेरै प्रयोजनका लागि पास बाँड्ने गरेको पनि छैन । यसले गर्दा पास लिन धेरै कठिनाइ व्यहोर्नु नपर्ला । सहज किसिमले पास दिइरहेका छौं ।’ –काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्