इन्टरमिलानले युभेन्टसको वर्चश्व समाप्त पार्‍यो



मिलान, (एजेन्सी) ।

इन्टरमिलानले युभेन्टसको इटाली सिरी ए फुटबल लिगमा रहेको लगातार ९ वर्षको वर्चश्व समाप्त पारेको छ । एटलान्टाले सासु ओलोसँग १–१ बराबरी खेलेसँगै इन्टरमिलान२०२०–०२१ सिजनको लिग च्याम्पियन बन्न सफल भएको हो । यो इन्टरको १९ औं सिरी ए उपाधि समेत हो । सिरी ए मा युभेन्टसले सर्वाधिक ३६ औंपटक उपाधि जितेको छ

नेराजुरी उपनामले परिचित इन्टरमिलानले एटलान्टामाथि १३ अंकको अग्रता बनाएसँगै ४ खेल बाँकी राखी उपाधि हात पारेको हो । इन्टरमिलानले ११ वर्षमा पहिलो पटक सिरी ए उपाधि जितेको हो । इन्टरले पछिल्लोपटक २००९–१० मा जोजे माउरिन्हो मेनेजर हुँदा उपाधि जितेको थियो ।

युभेन्टसलाई लगातार तीनपटक सिरी ए मा उपाधि दिलाएका एन्टोनियो कोन्टेहाल इन्टरमिलानका मेनेजर हुन् । कोन्टे गत सिजनमै इन्टरलाई उपाधि दिलाउन नजिक पुगेका थिए । तर, उनको टिम युभेन्टससँग पछि परेर उपाधिबाट विमुख भएको थियो । यसपटक भने उनले इन्टरलाई उपाधि दिलाएरै छाडे ।

समर्थक सडकमा

एटलान्टा र सासुओलोबीचको खेल सकिएको सिटी बज्ना साथै इन्टरमिलानका समर्थक सडकमा खुशी मनाउन निस्केका थिए । हजारौँ समर्थकले पियाजा डुओमोमा झण्डाका साथै विभिन्न चिह्न बोकेर खुशीयाली मनाएका थिए । कोरोना भाइरसको कहरमा पनि उनीहरूले गीत गाएर, उफ्रेर, नाचेर खुशी मनाएका थिए ।

युभेन्टसको जित

इटालियन क्लब युभेन्ट्सले सिरी ए लिग फुटबलमा जितको नतिजा निकालेको छ । आइतबार रातिभएको सिजनको ३४ औं साताको खेलमा युभेन्टसले उडिनेसेलाई उसैको घरेलु मैदानमा २–१ गोल अन्तरले हराएको हो । अवे मैदानमा युभेन्टसलाई महत्वपूर्ण पुनरागमन जित दिलाउन रोनाल्डो नायक बने । उनले टिम कठिन अवस्थामा पुगेका बेला दुई गोल गरेर जित सुनिश्चित पारेका थिए ।

उडिनेसेले आफ्नो मैदानमा खेलको १०औं मिनेटमै गोल गरेर अग्रता लिएको थियो । सो गोल नाउहेल मोलिनाले गरेका थिए । उडिनेसेले डीबक्स भन्दा केही पछाडि फ्रिकिक पाएको बल चलाखीपूर्वक मुभमा गोल गरेको थियो । युभेन्टसका खेलाडीले फ्रिकिक छेक्न पर्खाल बनाउँदै गर्दा उडिनेसेले बल प्रहार गर्दै गोल गरेको थियो ।

सो गोल बेहोरेपछि युभेन्टस ठूलो दबाबमा परेको थियो । युभेन्टसलाई बराबरी गोल फर्काउन खेलको ८३औं मिनेटसम्म पर्खिनु परेको थियो । डीबक्स बाहिर युभेन्टसले फ्रिकिक पाएकोमा रोनाल्डोेले प्रहार गरेको थियो। सो बल छेक्न पर्खाल बनाएर बसेका उडिनेसेका खेलाडीले ह्यान्ड बल गरेपछि रेफ्रीले युभेन्टसलाई सोझै पेनाल्टी दिएकाथिए ।

जसमा रोनाल्डो पेनाल्टी प्रहार गरेर गोल गर्दै टिमलाई खेलमा फर्काए । त्यसको ६ मिनेटमै रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे । यसपटक सब्स्टिच्युट मिडफिल्डर आड्रेन राबिओटले मैदानको माथिल्लो भागबाट दिएको पासमा डीबक्समा रहेका रोनाल्डोले कठिन अवस्थामा डाइभिङ हेडिङ गर्दै बललाई जाली चुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्