एघार एम्बुलेन्स तयारी अवस्थामा



बैतडी, (नेस)

नयाँ भेरिएन्टसहितको कोरोना भाइरसको दोस्रो लहर शुरु भएसँगै बैतडीमा ११ एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । कोरोना संक्रमित तथा शंकास्पद बिरामीलाई आइसोलेटेड वार्डसम्म पु¥याउन तथा गम्भीर बिरामीलाई बाहिर रिफर गर्नका लागि जिल्लामा ११ एम्बुलेन्स तयारी अवस्थामा राखिएको हो ।

७ स्थानीय तहका गरी ८, जिल्ला अस्पतालका २ र शहीद दशरथ चन्द स्मृति प्रतिष्ठानको १ एम्बुलेन्स तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो ।जिल्लाका ३ स्थानीय तहमा भने अझै एम्बुलेन्स छैनन् । दशरथचन्द नगरपालिकाका २, पाटन नगरपालिका, मेलौली नगरपालिका, पञ्चेश्वर गाउँपालिका, डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका र शिवनाथ गाउँपालिकाको १–१ वटा एम्बुलेन्स तयारी अवस्थामा छन् । सुर्नया गाउँपालिका, पुर्चौडी नगरपालिका र सिगास गाउँपालिकासँग एम्बुलेन्स नरहेको जनाइएको छ । पुर्चौडी नगरपालिकासँग एम्बुलेन्स रहेको भए पनि यसअघि गत वर्ष दुर्घटनामा परेको र त्यसपश्चात् मर्मत हुन सकेको छैन ।

सङ्क्रमित वा आशंका गरिएका बिरामी बोक्न आवश्यक उपकरणसहित एम्बुलेन्स तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टले बताउनुभयो । बिरामी भएको खबर पाउने बित्तिकै तत्कालै उद्धार गरेर अस्पताल लगिने व्यवस्था मिलाइएको उहाँको भनाइ छ ।सबै एम्बुलेन्सका चालकलाई आवश्यक सुरक्षा सामग्रीसमेत प्रदान गरिएको जनाइएको छ । चालकलाई सुरक्षित राखन पन्जा, मास्कलगायतका आवश्यक सामग्री प्रदान गरिएको छ । एम्बुलेन्स चालक र बिरामीबीच कुनै सम्पर्क नहुने गरेर कोरोना संक्रमित मात्रै बोक्न तयारी अवस्थामा राखिएको छ ।

त्यस्तै, एम्बुलेन्स चालकलाई सुरक्षित सामग्री लगाउने तरिका र कोरोना बिरामीलाई ह्यान्डलिङ गर्ने तरिकाका बारेमा तालिमसमेत प्रदान गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।बैतडीमा दोस्रो लहरको कोरोना संक्रमणपछि १ सय २१ जनामा संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्