कोरोना महामारीका बेला जिल्ला अस्पताल दार्चुलामा छैनन् स्वास्थ्यकर्मी



किरन धामी, दार्चुला ।

कोरोनाको महामारीका बेला जिल्ला अस्पताल दार्चुलामा स्वास्थ्यकर्मीको अभाव रहेको पाइएको छ । स्वीकृत दरबन्दी अनुसारका स्वास्थ्यकर्मीहरु नहुँदा अस्पतालको अवस्था दयनिय बनेको छ । अस्पतालको आकस्मिक कक्षमा एक जना पनि स्वास्थ्यकर्मी नभएको अस्पताल प्रशासनले जनाएको छ ।

अकस्मिक कक्ष हेर्ने २ जना अहेबको स्वीकृत दरबन्दी रहेको भए पनि पुरै रिक्त रहेको अस्पताल प्रशासन प्रमुख आन सिंह डागाले जानकारी दिनुभयो । जिल्ला अस्पताल दार्चुलामा १२ जना स्वास्थ्यकर्मीको स्वीकृत दरबन्दी रहेको भए पनि दरबन्दी अनुसारका स्वास्थ्यकर्मी छैनन् ।

१५ शैय्याको उक्त अस्पतालमा एमडिजीपी डाक्टर १ जना, मेडिकल अधिकृत १ जना, स्टाफ नर्स ३ जना, हेल्थ असिष्टेन्ट १ जना, अहेब २ जना, अनमी २ जना, रेडियो ग्राफर १ जना र १ जना ल्याब असिष्टेन्टको स्वीकृत दरबन्दि रहेको उहाले बताउनुभयो ।

अस्पतालमा हाल स्वास्थ्य सेवा विभागले करारमा स्वास्थ्यकर्मी पठाएको छ । विभागले छात्रबृती कोटाका २ जना मेडिकल अधिकृत पठाएको छ । यस्तै सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले १ र निकसाइमन परियोजनाले १ जना डाक्टर पठाएको प्रशासन प्रमुख डागाले बताउनुभयो ।

स्वीकृत दरबन्दीमा हाल स्टाफ नर्स, अनमी र ल्याब असिष्टेन्ट फुलफिल छन्, भने अहेब, हेल्थ असिष्टेन्टको दरबन्दी रिक्त छ । १ जना रेडियो ग्राफरको दरबन्दीमा करारमा भर्ना गरिएको अवस्था रहेको उहाको भनाई छ । बिगतमा १५ शैय्यामा संचालन भएको जिल्ला अस्पताल अहिले ४५ शैय्या सहित संचालनमा छ । “अस्पतालमा शैय्या थपिए दरबन्दी थपिएनन्, प्रशासन प्रमुख आन सिंह डागाले भन्नुभयो ।”

हल संचालनमा रहेको ४५ शैय्याको अस्पतालका लागी ८ जना मेडिकल अधिकृत डाक्टर, १६ जना स्टाफ नर्स र थप अन्य पदका स्वास्थ्यकर्मीहरुको आवश्यकता रहेको उहाले बताउनुभयो । थप दरबन्दी र आवश्यक स्वास्थ्यकर्मीका लागी स्वास्थ्य सेवा विभाग र सामाजिक विकास मन्त्रालयमा पत्राचार गरीएको उहाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्