ताबिन बास्कोटाको अंग्रेजी लेखनमा सहयोगी पुस्तिका ‘राइट वेल’



न्युज अफ नेपाल, काठमाडौं ।

विद्यार्थीमा अंग्रेजी लेखनको स्तर अभाव देखेका २२ वर्षे युवा ताबिन राज बास्कोटाले उनीहरुलाई लेखनमा सहयोग गर्न एउटा पुस्तिका लेखेका छन्—‘राइट वेल’ अर्थात ‘राम्रो लेख’ ।
काव्य स्कुलबाट विद्यालय शिक्षा, इस्लिङ्गटन कलेजबाट ए लेवल र थाइल्याण्डको सियाम विश्वविद्यालयबाट सम्वन्धन प्राप्त काठमाण्डौ कलेज अफ म्यानेजमेण्टबाट केही महिनाअघि बिबिए उतिर्ण गरेका लेखक बास्कोटा स्नातकोत्तर अध्ययनको तयारीमा छन् । विभिन्न विषयका पुस्तक पढ्न रुचि राख्ने युवा बास्कोटाले पहिलोपटक सहयोगी पुस्तिका लेखेका हुन ।

विशेष गरि निम्न माद्यमिक र माद्यमिक तहमा अध्ययन गरिराखेका विद्यार्थीहरुको अंग्रेजी लेखन सिलसिलेवार नहुने गरेको, प्रश्न एउटा जवाफ अर्काे हुने गरेको, लेख्न खोजिएका र लेखिएका विषय प्रष्ट र पुरा नहुने गरेको कारणले सहयोगी पुस्तिकाको खाँचो देखेर पुस्तिका लेखिएको बास्कोटाले बताए । सानै कक्षादेखि यस्तो खालको सहयोगी पुस्तिकाको आवश्यकता भएतापनि नेपालको विद्यालयमा ६ कक्षादेखि लागु गर्न सकिने लेखकको दावी छ ।

काव्य स्कूल नयाँबानेश्वरमा सूचना प्रविधि र लेखनकला विषयमा अध्यापन गर्दै आएका बास्कोटाले विद्यार्थीहरुमा अंग्रेजीमा सजिलैसंग कुराकानी गर्नसक्ने क्षमता भएतापनि अंग्रेजी लेखनमा अझै पनि कमीकमजोरी देखिएकोले सो पुस्तिकाको आवश्यकता परेको बताउँछन् । पठन र लेखनमा समेत विद्यार्थीलाई सहयोग पुगोस भनेर नेपाल सरकारले जारी गरेको पाठ्यक्रममा समेत सहयोगी सामग्रीको रुपमा उनको यो सहयोगी पुस्तिका लाई लिन सकिने बताईएको छ ।

यसको साथै विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुको लागि आवश्यक पर्ने परीक्षा आई.ई.एल.टि.एस र एस.ए.टिको लागि समेत सो पुस्तिका सहयोगी हुने जनाईएको छ ।
बदलिँदो समय अनुसार इमेल, इन्टरनेटजस्ता अनलाईनहरुमा औपचारिक पत्र लेख्ने कलादेखि विद्यार्थीहरुलाई पावरप्वाइन्ट प्रिजेन्टेशन, ग्राफिक अर्गनाइजेशन र विचार आदानप्रदान गर्नको लागि समेत सो पुस्तिकाले सहयोग गर्नेछ ।

लेखक बास्कोटाको पहिलो कृति ‘राइट वेल’लाई नेदरल्याण्डस्को सरकारी पाठ्यक्रम निर्माता मार्लिन स्पिरिङ्ग र अमेरिकी शिक्षावीद् कृष्टिन हर्कट, जर्मनीकी शिक्षावीद् सिलिया नरिङ्गले समेत शुभकामना सन्देश पठाएर हौसला दिएका छन् । झापा स्थायी घर भई हाल चन्द्रागिरी नगरपालिका ११ विष्णुदेवी भिलेज, नैकाप बस्दै आएका युवा लेखक बास्कोटाले आफ्नो पहिलो कृति स्वर्गीय आमा बिष्णुकुमारी राई बास्कोटाप्रति समर्पित गरेका छन् । युवा लेखक बास्कोटा काव्य स्कुल नयाँबानेश्वरका संस्थापक प्रिन्सिपल नवराज बास्कोटा र स्व.विष्णुकुमारी राई बास्कोटाका जेठा छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस्