एसईई परीक्षा जेठ १३ देखि शुरु



पुष्कर बुढाथोकी, भक्तपुर ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठ १३ देखि २४ गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले जनाएको छ ।
बोर्डको मंगलबारको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले बताउनुभयो । यस वर्षको एसईई परीक्षा पनि बोर्डले नै लिनेछ । गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेको बोर्डका अध्यक्ष पौडेलले बताउनुभयो ।

परीक्षा तालिकाअनुसार १३ गते बिहीबार अनिवार्य अंग्रेजी, १४ गते अनिवार्य नेपाली, १६ गते अनिवार्य गणित, १७ गते वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत व्याकरण तथा अनुवाद, १८ गते अनिवार्य सामाजिक अध्ययन, १९ गते स्वास्थ्य जनसंख्या वातावरण, २० गते ऐच्छिक प्रथमपत्रका सबै विषय र २१ गते ऐच्छिक द्वितीयपत्रका सबै विषयको परीक्षा सञ्चालन हुनेछ ।मन्त्रिपरिषद्को निर्णयमा ‘विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा माध्यमिक शिक्षा (कक्षा १०) को एसईई परीक्षा सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी राष्ट्रिय परीक्षा बोर्डले साविकबमोजिम परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउने’ उल्लेख छ ।

गत वर्ष कोभिड–१९ को महामारीका कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरी नतिजा प्रकाशित गरिएको थियो । संविधानले माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय सरकारलाई दिएको छ भने शिक्षानीतिमा पनि कक्षा १० को परीक्षा प्रदेश मातहत राखिएको छ ।बैठकले कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि गर्ने निर्णय गरेकोे छ । परीक्षा जेठ २६ देखि असार ४ गतेसम्म हुनेछ । कोभिड–१९ महामारीका कारण सरकारले यो वर्षको शैक्षिक सत्र दुई महिना पछाडि धकेलेर जेठ मसान्तसम्म र नयाँ शैक्षिक सत्र असारदेखि शुरु गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्