सरकार ढलाउन षड्यन्त्र शुरु भयो : अर्थमन्त्री पौडेल



यमलाल भुसाल, बुटवल ।

अर्थमन्त्री एवं नेकपा ओली समूहका महासचिव विष्णु पौडेलले सरकार गिराउने षड्यन्त्र शुरु भएको बताउनु भएको छ् । पार्टीकै प्रचण्ड–माधव पक्षप्रति लक्षित गर्दै पौडेलले अप्राकृतिक गठबन्धन गरेर सरकार गिराउने गतिविधि भइरहेको बताउनु भयो । ‘आफ्नो पार्टीको सरकार गिराउन संवैधानिक दायराबाट बाहिर गएर मध्यरातमा कहिले देउवा, कहिले जसपाका नेतासंग प्रस्ताव बोकेर हिँडेका छन्’–रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै पौडेलले भन्नु भयो–‘मध्यरातमा अंध्यारा कोठामा तानाबाना बुनिंदै छन् ।’

लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नक्सा प्रकाशन गरेपछि ओली सरकारविरुद्ध प्रहार शुरु भएको पौडेलले जिकिर गर्नु भयो । विप्लव नेतृत्वको नेकपा र सरकारबीच वार्ता भएर तीन बुंदे सहमति भएको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री र विप्लवले भोलि सहमति सार्वजनिक गर्ने बताउनु भयो । विखण्डनको पक्षमा नारा लगाउने डा. सिके राउतलाई पनि सम्झाएर सहमतिमा ल्याउन ओली नेतृत्वको सरकार सफल भएको पौडेलले उल्लेख गर्नु भयो ।

अर्थमन्त्री विष्णु पौडेलले कोरोना खोप खरिदका लागि वजेट अभाव नभएको पनि बताउनु भयो । अर्थमन्त्री विष्णु पौडेलले तिलोत्तमालाई महानगर बनाएर छाड्ने दावी गर्नु भयो । तिलोत्तमालाई केन्द्र बनाएर सैनामैना, देवदह र सिद्धार्थनगरलाई जोडेर महानगर बनाउने दावी गर्नु भयो ।

सिद्धबाबामा सुरुङ मार्ग निर्माणका लागि टेण्डर आव्हान गर्ने चरणमा पुगेको भन्दै उनले कालिगण्डकी तिनाउ डाइभर्सन पनि छिटै कार्यान्वयन हुने दावी गर्नु भयो । कार्यक्रममा रुपन्देही १ का सांसद छविलाल विश्वकर्मा,लुम्बिनी प्रदेशका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी,प्रदेश सांसदहरु भोजप्रसाद श्रेष्ठ,रमा अर्याल,उपप्रमुख जागेश्वरीदेवी चौधरी,सुरेन्द्र श्री लगायतले योजनावद्ध र दिगो विकासमा ध्यान दिन आग्रह गर्नु भएको थियो ।

तिलोत्तमा ६ कुन्जलापुरमा ८ बिघा क्षेत्रफलमा ६ करोड ४२ लाख लागतमा नगरपालिकाको प्रशासकीय भवन बनेको हो । लिफ्ट सुविधासहितको भवन अपांग र लैंगिकमैत्री रहेको नगरपालिकाका योजना शाखा प्रमुख प्रदीप वनले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्