नेपाल समाचारपत्र, इलाम ।
कोरोनाविरुद्धको कोभिसिल्ड खोप इलाममा अत्यन्त कम सञ्चारकर्मीले लगाएको पाइएको छ । स्वास्थ्य कार्यालय इलामले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लामा रहेका पत्रकारमध्ये ४० प्रतिशतले मात्र कोरोनाविरुद्धको खोप लगाएका पाइएको हो ।६० प्रतिशत पत्रकारले अझै खोप लगाएका छैनन् । पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका पत्रकारहरुमध्ये अत्यन्त कमले खोप लगाएका हुन् ।
यस्तै जिल्लाका रहेको दश पालिकाका जनप्रतिनिधि र कर्मचारीमध्ये ३९ प्रतिशत, निजामती कर्मचारी ७० प्रतिशत, जनपथ प्रहरी ३८ प्रतिशत, सशस्त्र प्रहरी शतप्रतिशत, बैंक तथा वित्तीय समूहका ५४ प्रतिशत कर्मचारी, प्राधिकरण तथा संस्थानमा कार्यरत १० प्रतिशत कर्मचारी र न्याय सेवा समूहका ९३ प्रतिशत कर्मचारीले कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाएका छन् । समग्रमा जिल्लामा ६२ प्रतिशतले खोप लगाएका छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा २०६० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । कार्यालयले ३ हजार ३ सय ३० जनालाई खोप लगाउने लक्ष्य लिए पनि त्यो लक्ष्य पूरा भने हुन नसकेको कार्यालयका प्रमुख बृजकुमार दासले बताउनुभयो ।
उहाँका अनुसार खोप लगाउने अभियानको पहिलो चरणको पहिलो प्राथमिकतामा परेका १ हजार ४ सय ६५ जना र पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका २ हजार ६० जनालाई खोप लगाइएको हो ।अब सरकारले फागुन २३ गतेबाट दोस्रो चरणको पहिलो प्राथमिकतामा ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । यसै क्रममा इलाममा पनि यसको तयारी थालिएको छ । जिल्लामा ७१ हजार ज्येष्ठ नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ । त्यसका लागि जिल्लामा २ सय १४ वटा खोप केन्द्रबाट खोप लगाइनेछ ।यसै गरी, ४० देखि ५४ वर्ष उमेर समूहमध्ये तोकिएका दीर्घरोगीलाई पनि खोप लगाइने स्वास्थ्य कार्यालय इलामका खोप सुपरभाइजर गंगाधर पण्डितले जानकारी दिनुभयो । जेष्ठ नागरिकका लागि तत्काल १५ हजार जनालाई पुग्ने भ्याक्सिन आइसकेको बाँकी भ्याक्सिन ल्याउने तयारी भइरहेको कार्यालयले जनाएको छ ।











प्रतिक्रिया