दोभान बजारमा आगलागी, ७९ परिवार विस्थापित


दिलकुमार लिम्बू, ताप्लेजुङ ।

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ र आठराई त्रिवेणी गाउँपालिकाको संगमस्थल दोभान बजारमा मंगलबार बिहान भएको आगलागीबाट ७९ परिवार विस्थापित भएका छन् ।

यो समाचार तयार पार्दासम्म आगो नियन्त्रणमा आइनसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिनुभयो ।आगलागीका कारण ४७ घर जलेर नष्ट भएको र ७९ परिवार विस्थापित भएको डीएसपी राणाले जानकारी दिनुभयो । लक्ष्मी बैंक शाखा कार्याल, ग्लोबल आईएमी बैंकको शाखा कार्यालय र आइएमईको एउटा शाखा कार्याल जलेर पुरै नष्ट भएको स्थानीयबासी गणेश कार्कीले जानकारी दिनुभयो ।

ताप्लेजुङको दोस्रो ठूलो बजार दोभान बजार हो । यो बजारमा सय व्यापारिक घर भएको स्थानीय कार्कीले बताउनुभयो । ४७ घरमा सबैको किराना पसलदेखि खाद्य स्टोर, हार्डवेयर पसल जलेर नष्ट भएको प्रहरी प्रमुख राणाले जानकारी दिनुभयो ।आगलागीबाट केकति क्षति भयो भन्ने विवरण आइनसकेको प्रहरीले जानकारी दिएको छ । फुङ्लिङ नगरपालिका र पाँचथरबाट आएको दमकलले आगो नियन्त्रणमा लिएको थियो । विस्थापित परिवार नजिकै पाल टाँगेर बसेको स्थानीय प्रशासनले जनाएको छ ।