दलित पत्रकार संघको महाधिवेशन फागुन २८ मा हुने



काठमाडौं ।
राष्ट्रिय दलित पत्रकार संघको प्रथम महाधिवेशन यही फागुन २८ र २९ गते रुपन्देहीको बुटवलमा हुने भएको छ । देशभर विभिन्न सञ्चारमाध्यममा क्रियाशील दलित समुदायका पत्रकारको छाता सङ्गठन संघको महाधिवेशन सफल बनाउन तीव्र तयारी भइरहेको अध्यक्ष विनोद पहाडीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “दलित समुदायबाट पत्रकारिता गर्ने पत्रकारको अधिकारका निम्ति स्थापित सङ्घको महाधिवेशनको तयारी तीव्ररूपमा भइरहेको छ, महाधिवेशनमा साङ्गठनिक छलफल, पत्रकारिता र समावेशितालगायत विषयमा छलफल गर्नुका साथै नयाँ नेतृत्व चयन हुनेछ ।” संघमा देशभरका दुई हजारभन्दा बढी दलित समुदायका पत्रकार आवद्ध छन् ।संघका हालसम्म ६० जिल्ला शाखा छन् भने काठमाडौँ उपत्यकासहित सात प्रदेश समिति छन् । महाधिवेशनमा ७७ वटै जिल्ला र सबै प्रदेशबाट प्रतिनिधिको सहभागिता हुनेछ ।महाधिवेशनमा दलित आन्दोलनमा सक्रिय नेता एवं लेखक-पत्रकार टीआर विश्वकर्माको सम्मानमा स्थापित ‘टीआर विश्वकर्मा स्मृति पत्रकारिता पुरस्कार’ र राणाशासनका विरुद्ध आन्दोलन चलिरहँदा कुचीकारको काम गर्दै कारागारबाट गणेशमान सिंहलगायत नेताको चिठ्ठी आदानप्रदान गर्ने राममाया च्यामेका सम्मानमा स्थापित ‘राममाया च्यामे लोक पत्रकारिता पुरस्कार’ प्रदान गरिनेछ ।

त्यसैगरी महाधिवेशनमा नेपाली काँग्रेसका संस्थापक सदस्य एवं प्रचार, लेखक तथा नेपाली चलचित्रका पहिलो निर्देशक देवव्रत परियार डिबी परियार को सम्मानमा स्थापित ‘देवव्रत परियार स्मृति राष्ट्रिय पुरस्कार’ र समाजसेवी रामेश्वर शिवाद्वारा स्थापित ‘परशु–सवरी’ पत्रकारिता पुरस्कार पनि प्रदान गरिनेछ । दलित समुदायका पत्रकारको पेशागत हकहित प्रवद्र्धन, पेशागत सुरक्षा, क्षमता अभिवृद्धिलगायतका रचनात्मक काम गर्ने उद्देश्यले विसं २०६७ मा सङ्घको स्थापना गरिएको हो ।संघले सरकारी तथा निजी सञ्चारमाध्यम विषयवस्तु र सहभागिताका हिसाबले समावेशी हुनुपर्ने, दलित समुदायद्धारा सञ्चालित आमसञ्चारमाध्यम नवीकरणमा कर छुट गर्नाका साथै ती सञ्चारमाध्यमलाई सरकारले विशेष सहुलियत दिनुपर्नेलगायत सवाल उठाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्