सयौं जन्मदिनमा हराएको वैवाहिक औंठी फिर्ता



वासिङ्टन, (एजेन्सी) ।

अमेरिकाको फ्लोरिडा निवासी एकजना पुरुषले आफ्नो एक सयौं जन्मोत्सव मनाउन लागेकै बेला पाँच वर्षअघि मिनोसोटास्थित एउटा किराना पसलमा हराएको आफ्नो विवाहको औंठी फिर्ता पाएका छन् । सो पसलको मर्मत गर्ने क्रममा त्यो औंठी भेटिएको बताइएको छ ।

आइतबार फोर्ट लडेरडेरस्थित आफ्नो घरमा आफ्नो परिवार र साथीभाइहरूसँग जन्मदिन मनाउँदै गर्दा डोनाल्ड डेन्निसले जन्मदिनको अमूल्य उपहारको रूपमा सो औंठी फिर्ता पाएका थिए । उनले मिन्नेसोटास्थित आफ्नो गृहनगर अस्टिनको एल्डी स्टोरमा सामान खरिद गर्ने क्रममा आफ्नो औंठी हराएका थिए ।
एकजना ठेकेदारले सो स्टोरलाई नयाँ ढाँचा दिइरहेका बेला औंठी भेट्टाएका थिए ।

स्टोरका म्यानेजरहरूले औंठीमा खोपिएको डेन्निस र उनकी पत्नीको नाम तथा विवाहको तिथिको आधारमा खोजी गर्दै जाँदा डेन्निसकी छोरीसम्म पुग्न सफल भएका थिए । औंठी फिर्ता पाउँदा डेन्निस खुसीले निकै भावविह्वल बन्न पुगेका थिए ।यसै महिना फ्लेरिडा पुगेर औंठी भेट्टाउने ठेकेदारकी पत्नीले डेन्निसकी छोरीलाई औंठी दिएकी थिइन् । दाश्रो विश्वयुद्धका योद्धा आफ्ना पिताको सम्मानमा जन्मोत्सवको दिन सेनाले सैनिक गाडीमा चढ्ने चाँजोपाँजो पनि मिलाइदिएको स्यारी जोहन्सनले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्