हेटौंडामा न्याय माग्दै निर्मला र भागरथीहरु



न्युज अफ नेपाल, हेटौंडा ।

गत मंसिरमा पूर्वी मकवानपुरको बागमती गाउँपालिका–७, लामीटारकी ४ वर्षीया रुबिना पाख्रिनको बलात्कारपछि हत्या भयो । उनका हत्यारा सोही गाउँका १६ वर्षीय किशोर हुन् । रुबिनाको मंसिर ३ गते राति ८ बजे हत्या भएको हो । बालिकालाई ती किशोरले बोकेर मनसाही खोलाको बगरमा बलात्कार गरेका थिए । बालिका हराएपछि खोज्ने क्रममा स्थानीयले बगरमा रगताम्य अबस्थामा निर्वस्त्र भेटेका थिए ।

गाउँमा पूजा भइरहेको थियो । आमाबुबाबाट बालिका हुलमूलमा हराइन् । करिब डेढ घण्टापछि नजिकको खोलाकिनारमा रगताम्य अबस्थामा भेटिइन् । बालिका हराएपछि ती किशोरले नै शव भेटाएका थिए । जसले बलात्कारपश्चात् हत्या गरे, उनैले बालिकाको शव भेटियो भनेर हल्ला गरेका थिए ।

उनीजस्तै निर्मला पन्त र भर्खर भागरथी भट्टको पनि बलात्कारपछि हत्या भएको थियो । यस्तै घटनाको प्रतीकात्मक सन्देशका लागि शनिबार दिउँसो हेटौंडाको बुद्धचोकमा सेतो कुर्तामा सजिएकी किशोरी रोइकराइ गरिरहेकी थिइन् । उनी सेतो कुर्तामा रगतका दाग देखिन्थ्यो ।
उनी झट्ट हेर्दा बलात्कारपछि हत्या भएकी निर्मलाजस्तै र भागरथीजस्तै देखिन्थिन् ।

उनीहरुकै हुलियामा प्रस्तुत थिइन् उनी । सबैको ध्यान उनीमै केन्द्रित थियो । बलात्कारपछि हत्या भएको आत्माका रुपमा उनको सडकनाटकको प्रस्तुतिले सबैको ध्यान केन्द्रित गरेको थियो । उनले नाटकको कथामा समाज, राजनीति, कानुन र संविधानलाई लज्जित बनाउने भाषामा आफ्नो पीडा पोखिरहेकी थिइन्–तरकारी काट्दा कहिलेका“ही हातमा चक्कुले छोए आत्था भन्दै कति छिटै हात पन्छाइहाल्छौं । हो, हामीलाई थोरै भए पनि पीडा हुन्छ । तर, एकपटक सोच्नुभएको छ एक बालिका बलात्कृत हुन्छिन् ।

त्यतिमात्र होइन, त्यसपछि हत्या गरिन्छ । कति हुँदोहो पीडा ? हामी कल्पनासमेत गर्न सक्दैनौं । यस्तैयस्तै वास्तविकताका कथा ती किशोरीले प्रस्तुत गरिरहेकी थिइन् । वरिपरिका किशोरीका आँखामा उक्त नाटककी पात्र किशोरीको पीडा छचल्किरहेको देखिन्थ्यो । देशमा पछिल्लो समय बलात्कारका घटना बढ्दो सुनिन थालेको छ । बलात्कारमात्र पनि नभएर बलात्कारपछि हत्या गरेका बालिकाहरुका एकपछि अर्काे घटना सार्वजनिक भइरहेको अबस्था छ ।

करिब तीन वर्षअघि निर्मला पन्त, केही महिनाअघि सम्झना बिक र केही दिनअघि भागरथी भट्ट । उनीहरुको बलात्कारपछि हत्या भएको हो । यी घटनामा देशव्यापीरुपमा आन्दोलन तथा विरोध भएको छ । तर, अझसम्म पनि निर्मलाको घटनामा संलग्न दोषी पत्ता लगाउन सकिएको छैन । अझै पनि दोषीलाई कारबाही गर्नुपर्छ भनेर विभिन्न माध्यमबाट आवाज उठिरहेका छन् ।

बलात्कारका घटनाबाट पीडितले न्याय पाउनुपर्नेलगायत नारासहित शनिबार हेटौंडाको बुद्धचोकमा प्रदर्शन गरिएको छ । अभियानमा सबैले कालो कपडा र आँखामा कालोपट्टी बाँधेका थिए । अभियानमा सहभागीहरुले पितृसत्तात्मक राज्यव्यबस्था र कानुन कार्यान्वयनको कमजोर अबस्थाका कारण देशमा बालबालिका र महिलामाथि हिंसाका घटना बढिरहेको बताएका थिए ।

हातमा ‘अझै कति सहने’ भन्ने मूल नारासाथ ‘नो मिन्स नो’, ‘इट वाज नट् हर ड्रेस–इट वाज योर इभिल माइण्ड’ लगायत नारासहित प्लेकार्ड बोकेका युवतीले धिमेबाजाको आवाजमा ‘बलात्कारी होस् तँ’ भन्दै प्रदर्शन गरेका थिए । अभियानको नेतृत्वकर्ता युवा विकेशलाल श्रेष्ठले विश्वभर बलात्कारविरुद्ध प्रदर्शन भइरहेकोले आफूहरु पनि प्रदर्शनका लागि सडकमा उत्रेको बताउनुभयो । श्रेष्ठ भन्नुहुन्छ–दिनहु“जसो बलात्कारका घटना भइरहेका छन् तर कसरी यसलाई कम गर्न सकिन्छ भन्ने कुरा भएको छैन ।

सबैले बलात्कारीलाई मृत्युदण्ड दिनुपर्छ भनेर वकालत गरिरहेका छन् । तर, यो समस्याको समाधान हो त ? मृत्युदण्ड दिने देशमा पनि यस्ता घटनाहरु देखिन छाडेको छैन । बलात्कारीलाई सजाय हुन्छ भन्ने के ग्यारन्टी छ र ? तल्लो तहबाट नै यौनशिक्षा दिने तथा प्रहरी र नागरिक समाजबाट बलात्कारविरुद्ध जनचेतना जगाउन आबश्यकता रहेको, बलात्कारका घटनाको राम्ररी छानबिन हुनुपर्ने र बलात्कारीलाई केही समयपछि रिहा होइन कडा भन्दा कडा कारबाही हुनुपर्ने श्रेष्ठको भनाइ छ ।

युवापुस्ताको सहभागितामा हेटौंडाको बुद्धचोकमा ‘न्यायका लागि स्वतन्त्र जनदबाब’ नामक अभियानले विरोध प्रदर्शन गरेको हो । हेटौंडाको हुप्रचौरबाट शुरु भएको -याली बुद्धचोकमा टुंगिएको थियो । देशमा हुने लैंगिक हिंसाका घटना न्यूनीकरणका लागि घरपरिवार, समाज र सरकारको भूमिका महत्वपूर्ण हुने गर्दछ । सचेतनाको काम निरन्तर हुने र अपराधीलाई कडा सजाय हुने हो भने आगामी दिनमा यस्ता घटना न्यूनीकरण हुने प्रदर्शनमा सहभागी प्रगति माविकी विद्यार्थी पूर्णिका तिमल्सिनाको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्