तीन सञ्चारकर्मीलाई इन्जाको सामुदायिक पुरस्कार



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) द्वारा स्थापित एक लाख रुपियाँ राशीको सामुदायिक पत्रकारिता पुरस्कार (२०२०) बाट कान्तिपुर दैनिकका बझाङ संवाददाता वसन्तप्रताप सिंह, राष्ट्रिय समाचार समितिकी रुपन्देही समाचारदाता नीरा गौतम र नेपाल टेलिभिजनकी दोलखा संवाददाता मन्दिरा थापालाई प्रदान गरिने भएको छ ।

इन्जाको आह्वानमा प्राप्त निवेदनहरुमध्येबाट निर्णायक मण्डलले पत्रकारत्रय सिंह, गौतम र थापालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । अमेरिकाको भर्जिनिया निवासी पूर्वसञ्चारकर्मी तथा सामाजिक अभियन्ता सुनिता खत्रीले इन्जा सामुदायिक पत्रकारिता पुरस्कारको प्रायोजन गर्दै आउनुभएको छ ।वसन्तलाई कान्तिपुर दैनिकमा प्रकाशित साइपालका एकै गाउंँका ३ सय दृष्टिविहीनको रिपोर्टिङ ‘साइपालको अध्यारो संसार’ र सो समाचार प्रकाशित भएपछि समाचार प्रभावकै कारण आँखाको शल्यक्रिया भई आँखा देख्न सक्ने भएको फलोअप रिपोर्टिङ ‘फर्कियो साइपालमा खुसी’का लागि सो पुरस्कार प्रदान गरिएको हो ।रुपन्देहीकी नीरा गौतमले सेतोपाटीमा प्रकाशित ‘गर्भमा नै मारिन्छन् छोरी’ शीर्षक समाचारका लागि सो पुरस्कार प्राप्त गर्नुभएको हो । तराईमा दाइजो प्रथाको कारण छोरी जन्माउन नचाहने अभिभावकको संख्यामा बढोत्तरी हुँदै जाँदा अहिले कसरी तराईमा महिला र पुरुषको जनसंख्या असमान बन्दै गएको छ र यसले कस्ता दूरगामी असरहरु निम्त्याउँदै छ भन्ने देखाइएको छ ।

दोलखाकी मन्दिरा थापालाई नेपाल टेलिभिजनमा प्रसारित ‘लकडाउनका समयमा समेत दोलखामा ८ जना महिला तथा बालबालिकामाथि बलात्कार’ भएको रिपोर्टका लागि सो पुरस्कार प्रदान गरिएको हो । लकडाउनका कारण रोजगारीका सिलसिलामा जिल्लाबाहिर गएका मानिसहरु गाउँमा फर्किएपछि बलात्कारका घटनामा पनि वृद्धि भएको रिपोर्टले देखाउँछ ।इन्जाले यसअघि नै खोजी पत्रकारिता पुरस्कार नागरिक दैनिकका संवाददाता टपेन्द्र कार्की र लोकान्तर डटकमका समाचार सम्पादक सुशील पन्तलाई प्रदान गर्ने सार्वजनिक गरिसकेको छ भने यो वर्षको उत्कृष्ट साहित्यिक कृति पुरस्कार पत्रकार तथा साहित्कार राजेन्द्र पराजुलीद्वारा लिखित संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’लाई प्रदान गर्ने घोषणा यसअघि नै सार्वजनिक भइसकेको छ ।इन्जाले यी तिनै विधाका पुरस्कारहरु आगामी मार्च १ मा काठमाडौंमा आयोजना हुने विशेष समारोहमा प्रदान गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्